काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई आफ्नो पार्टीसँग एकता गर्न अपिल गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एमाले ओखलढुंगा जिल्ला कमिटीलाई नेकपामा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि अपिल गरेका हुन् । उनले भने, ‘नेकपा (एमाले)लाई कुनै भ्रममा नरहन, साँच्चै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म अपिल गर्न चाहन्छु ।’
देशलाई सङ्कटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै प्रचण्डले त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको एकता जरुरी रहेको बताए ।
‘हामी सबैका लागि राष्ट्रभन्दा ठूलो अरू केही पनि छैन। राष्ट्र सङ्कटमा छ। नेपाली जनताको एकताले मात्रै मात्रमै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ,’ उनले भने, ‘वामपन्थी र कम्युनिस्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्दछ। अरू लोकतन्त्रवादीहरू पनि यो मोर्चामा आबद्ध हुन जरुरी छ । प्रतिक्रियावादीहरूको चलखेल रोक्ने एकमात्रै उपाय भनेको हामीबीचको एकता हो ।’
उनले मुलुकलाई सङ्कटबाट जोगाउनका लागि एकता अभियानलाई तिब्रता दिएको उनले बताए । मुलुकमा प्रतिक्रियावादीको चलखेललाई रोक्न पनि सबै देशभक्तले एकतावद्ध भएर अघि बढनुपर्नेमा उनले जोड दिए ।











