काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्न सरकारले पूर्ण शक्ति लगाएको बताएकी छन् ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा चुनौतीहरू समयसापेक्ष रूपमा परिवर्तन भइरहेको उल्लेख गरिन् ।
उनले विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सम्भावित सुरक्षा जोखिमहरूको गहन अध्ययन गरी उच्च सतर्कता, व्यावसायिकता र समन्वयका साथ कर्तव्य निर्वाह गर्न निर्देशन दिइन् ।
उनले निर्वाचनको सुरक्षाका लागि सबै सुरक्षा निकायहरूलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिइन् । निर्वाचन प्रक्रियामा एक थोपा पनि रगत नबगोस् र कोही पनि घाइते नहोस् भन्दै त्यसैअनुसार कडा सुरक्षा व्यवस्था मिलाउन जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘सुरक्षा चुनौतीहरू समयानुसार बदलिँदै गएका छन् । विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरी बलले खेलेको भूमिका अत्यन्त प्रशंसनीय छ ।’उनले थपिन्, ‘वर्तमान संक्रमणकालको अन्त्य गरी मुलुकमा दिगो स्थायित्व स्थापना गर्न सरकारले सम्पूर्ण प्रयास गरिरहेको छ । निर्वाचनमा शून्य हिंसा सुनिश्चित गर्न सबै सुरक्षा अङ्ग परिचालन गरिसकिएको छ । निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’
उनले निर्वाचनलाई सफल, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै सुरक्षा निकायले उच्च व्यावसायिकता प्रदर्शन गर्नेमा पूर्ण विश्वास व्यक्त गरिन् ।











