
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भएका सबै दलका नेताहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू तयार रहेको बताएका छन् ।
निर्वाचनको माहोल तातिरहेका बेला बौद्धिक वृत्त र मतदाता माझबाट उठिरहेको प्रत्यक्ष बहसको मागलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत पब्लिक डिबेटका लागि आफु तयार रहेको बताएका हुन् ।
देश बनाउने र देश जलाउने शक्तिहरूबीचको यो प्रतिस्पर्धामा आफू तथ्य र एजेण्डाका साथ मैदानमा उत्रिन तयार रहेको भन्दै उनले सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरेर ल्याइएका प्रचार सामग्रीले नेताहरूको वास्तविक चरित्र लुकाउन खोजेको आरोप लगाए ।
प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेहरूबीच एउटा पब्लिक डिबेट र ओपन लाइभ कार्यक्रम राख्न आग्रह गर्दै उनले कसले देश निर्माणमा के काम ग¥यो ? र अबको रोडम्याप के छ ?भन्ने विषयमा जनताले स्पष्ट थाहा पाउनुपर्ने कुरामा जोड दिए ।
यस पटकको निर्वाचनमा परम्परागत दलहरूसँगै नयाँ दलहरूले पनि प्रधानमन्त्रीको उम्मेदवार तोकेरै चुनावी मैदानमा उत्रिएका छन् । यस्तो अवस्थामा विगतको कामको मूल्याङ्कन, आगामी योजना र विकासको स्पष्ट खाकाका बारेमा बहस हुनु सकारात्मक हुने ओलीको तर्क छ ।
उनले एमालेलाई ‘देश बनाउने पक्ष’ को रूपमा चित्रण गर्दै आफूहरूले गरेका कामको तथ्यगत विवरण र भविष्यको योजना प्रस्तुत गर्न जुनसुकै मञ्चमा आउन तयार रहेको दोहो¥याएका छन् । अध्यक्ष ओलीले सार्वजनिक बहस आयोजना गरेर सबै पक्षलाई एकै ठाउँमा ल्याउन समेत सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।











