
काठमाडौं । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन् । बालेनको सचिवालयका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ ।
चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए । सुदूरपश्चिमबाट बालेननिकट दुई जनाले उम्मेदवारी दिएका छन् ।
उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ ।
सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन् । उनले काठमाडौं, ललितपुरका केही निर्वाचन क्षेत्रमा पनि चुनावी अभियानमा सहभागी हुने कार्यक्रम तय भएको छ ।











