Logo
Logo

गगनले भने- देश जोड्न मधेश जाँदैछु


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँका कथा मधेश लैजाने र मधेसका पीडा काठमाडौँ ल्याउनका लागि आफूले निर्वाचन क्षेत्र परिवर्तन गरेको बताएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र सर्लाही जानुअघि सोमबार एक भिडियो सन्देश जारी गर्दै थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका बताएका हुन् ।

आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने तर अधिकारविहीन अवस्थामा एकता पनि सम्भव नहुने धारणा राखे । पहाडबाट बसाइँ सरेर काठमाडौँ आएको परिवारको सदस्य भएको नाताले पहाड र सहरको जीवन बुझे पनि मधेससँगको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्न आफू त्यता जान लागेको उनले बताए ।

मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दालाई नजिकबाट बुझेर समाधानको पहल गर्दा सिङ्गो नेपालका मुद्दा हल गर्न सकिने र देशको नेतृत्व गर्न मधेसको माटोमा लडिबुडी गर्न आवश्यक रहेको निष्कर्षसहित यो निर्णय लिएको उनले उल्लेख गरे ।

आफ्नो राजनीतिक यात्राको सुरुवाती दिन सम्झँदै थापाले काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातासँगको दुई दशक लामो सम्बन्ध स्मरण गरे । पहिलो संविधानसभामा समानुपातिक उम्मेदवार हुँदादेखि २०७०, २०७४ र २०७९ को प्रत्यक्ष निर्वाचनमा प्राप्त लगातारको जितलाई उनले मतदाताको अगाध मायाका रूपमा व्याख्या गरे ।

नाकाबन्दी, भूकम्प र कोरोना महामारीजस्ता कठिन समयमा समुदायसँग मिलेर काम गरेको तथा सांसद र मन्त्रीका रूपमा भूमिका खेल्दा मतदाताले गरेको विश्वासप्रति उनले आभार प्रकट गरे । पार्टी सभापति भइसकेपछि धेरैले सुरक्षित क्षेत्र नछोड्न सुझाव दिए पनि आफूले सुझबुझपूर्ण तरिकाले जोखिम मोलेरै भए पनि देश जोड्नका लागि सर्लाही रोजेको उनले प्रस्ट पारे ।

आफू सर्लाही गए पनि काठमाडौँ–४ लाई मनमुटुमा लिएर हिँड्ने र यहाँका जात्रा, पर्व, संस्कृति तथा विकास निर्माणमा सधैँ जोडिइरहने प्रतिबद्धता उनले जनाए । काठमाडौँ क्षेत्र नम्बर ४ मा पार्टीका तर्फबाट युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनले आफ्नो अनुभव र तिमल्सिनाको नयाँ जोश मिसाएर क्षेत्रको विकास गर्ने बताए ।

जीवनभर काठमाडौँका मतदाताको ऋणी रहने बताउँदै थापाले सिङ्गो देशको नेता हुनका लागि एकपटक मधेस झर्नुपर्ने बाध्यता र आवश्यकतालाई बुझिदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्