काठमाडौं । आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार तथा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको विषयमा चिन्ता प्रकट गरेका छन् ।
सर्लाहीबाट पहिलोपटक निर्वाचन लड्दै गरेका थापाले आइतबार सर्लाहीको चुनावी भेटघाट कार्यक्रममा कुनैबेला बुवालाई सप्तरीका शिक्षकले गणित पढाएर इन्जिनियर बनाएको, तर अहिले त्यहिँ मधेशको शिक्षा खस्किएकोप्रति औँधी चिन्ता प्रकट गरे ।
‘मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्न सक्नु भयो,’ उनले भने, ‘त्यो इतिहास भएको मधेसमा आज गणित, विज्ञान र अंग्रेजमा सबैभन्दा कमजोर मधेसका विद्यार्थी भएको अवस्था छ ।’
सभापति थापाले आफू प्रश्न उठाउनेमात्र नभई उत्तर र समाधान दिने गरी मधेस झरेको पनि बताए । उनले भने, ‘म प्रश्न मात्र उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने र समाधान दिने गरी तपाईँहरूको प्रतिनिधि बन्न आएको हुँ ।’
थापासँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह चुनावी मैदानमा छन् । यो क्षेत्रलाई निकै रोचक चुनावी मैदानका रुपमा हेरिएको छ ।
गगन थापाले चुनावी कार्यक्रमलाई गरेको सम्बोधनको अंश उनकै शब्दमा :
कुनै बेला मधेसको मान्छे नगईकन पहाड, हिमालमा गणित, विज्ञानको कक्षा चल्दैनथ्यो । अबको १२–१५ वर्ष नेपालको आम्दानीको ठूलो स्रोत भनेको सूचना प्रविधि हो। सूचना प्रविधिका लागि केटाकेटी बेलादेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ । मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्न सक्नु भयो।
त्यो इतिहास भएको मधेसमा आज गणित, विज्ञान र अंग्रेजमा सबैभन्दा कमजोर मधेसका विद्यार्थी भएको अवस्था छ । हिजो मैले यो प्रश्न संसद्मा उठाए, आज यसको उत्तर खोज्न आएको हुँ। उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु।
केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा मधेस आउँछु, यहाँका साथीहरूको प्रतिनिधित्व गर्छु भन्ने मनमा लागेको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान पुर्याएको, यति धेरै सहिद भएको, प्रत्येक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेको मधेसले सिंगो नेपालभित्र जुन मान, सम्मान प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? त्यो प्रश्न मैले धेरै पटक उठाए । तर म प्रश्न उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने गरी तपाईको प्रतिनिधि बन्न यहाँ आएको छु।
मधेशले कांग्रेसलाई लगाएको गुण, मधेशले नेपालको प्रजातन्त्रका लागि लगाएको गुण र मधेशले सिंगो नेपाललाई दिएको योगदान म राम्रोसँग जान्दछु। मैले पढेर र बुझेर आएको हुँ । मधेशलाई मनभित्र राखेनौँ, आत्मसात् गरेनौँ भने नेपाली पहिचान अधूरो हुन्छ। सूचना प्रविधिमा सफल हुन केटाकेटी बेलादेखि नै गणित र विज्ञान जान्नुपर्छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले सिंगो नेपालमा पाउनुपर्ने मान–सम्मान किन पाएन ? म प्रश्न मात्र उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने र समाधान दिने गरी तपाईँहरूको प्रतिनिधि बन्न आएको हुँ । अब निर्वाचन क्षेत्रका जनताले आफ्ना समस्या राख्न प्रतिनिधि खोज्दै भौँतारिनु पर्दैन ।











