
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ का उम्मेदवार सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्दैछन् । उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट २१ फागुनमा हुने प्रतिनिसभा बैठकका लागि घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा कुनै पदको चाहनाले होइन, यो गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हो, वीरहरूको भूमि गोरखाले दिएको पहिचान, इतिहास र संस्कारलाई सम्मान गर्दै म तपाईंहरूसामु आएको हुँ ।’
गुरुङले थप भनेका छन्, ’हामीले भोगेका कठिन दिन, अधुरा सपना र अझै बाँकी रहेका कामहरू पूरा गर्न तपाईँहरूको साथ, विश्वास र आशीर्वाद नै मेरो सबैभन्दा ठुलो शक्ति हो । त्यो भरोसाको ऋण म विकास, सुशासन र इमानदार सेवामार्फत तिर्ने वाचा गर्दछु । देशभन्दा ठुलो केही छैन र जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन । गोरखाको सम्मान, हाम्रो समाजको भविष्य र हाम्रो नेपालका लागि सँगै अघि बढौँ । ’











