काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेका काम नेपालका लागि सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं-रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले ऊर्जा क्षेत्रको सुधारमार्फत मुलुकलाई आत्मनिर्भरताको दिशामा अघि बढाउन सकिने धारणा राखे ।
उनले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घर-घरमा रोजगारी सिर्जना गर्नु उज्यालो नेपाल पार्टीको मुख्य प्रतिबद्धता रहेको बताए । कृषि, खानेपानी र रोजगारीजस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गर्न उनले मतदातासँग आह्वान गरे ।
अध्यक्ष घिसिङले हाल देश परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल भए पनि अन्य क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए ।
उनले मुलुकको समग्र विकासका लागि स्पष्ट रोडम्यापसहित पार्टीको घोषणा पत्र छिट्टै सार्वजनिक गरिने जानकारी पनि दिए ।











