
टिकापुर, ८ कार्तिक । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कए । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै हुनुहन्थ्यो । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भने, ‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर प¥यो, पछि पल्लो घरकी दिदीले धान दिनुभो । अब दशैँमा भोकै रहनु पर्दैन ।’
धनकलाका घरमा खाद्यान्न संकट कोरोना महामारीपछि भएको हो । धनकला टीकापुरकै एउटा होटलमा वेटरको काम गर्नुहुन्थ्यो । कोरोना संक्रमण फैलन थालेपछि उहाँ काम गर्ने होटल बन्द भयो । होटल बन्द मात्र होइन धनकलाको रोजीरोटी र तीन छोराछोरी पाल्ने आधार बन्द भयो । सात महिनादेखि रोजगारीविहीन धनकलालाई रु ५० हजारभन्दा बढी ऋण लागिसकेको छ । ‘भारतमा रोजगारीका सिलसिलामा रहेका श्रीमान् पनि घर फर्किएका छन् । मेरो कामकाज पनि छैन, गाउँमै ज्यालादारी गरौँ भने पनि पाइँदैन’, धनकला भन्छिन् ‘अब के खाने ? के दशैँ आउँथ्यो, अब भोकै मर्ने चिन्ताले सताउन थाल्यो ।’
टीकापुर–१ कै सन्देश चौधरीको परिवारमा पनि साँझबिहानकै छाक टार्न समस्या भएको छ । सन्देश दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ । सन्देशका छोराछोरीले पनि दशैँमा मासु खाने र नयाँ लुगा लगाउने अपेक्षा गरेका छन् तर उहाँसँग राम्ररी खाना खुवाउन सक्ने आर्थिक जोहो छैन । ‘म घरघरमा दाउरा चिर्ने काम गर्थेँ, कोरोना महामारीपछि अचेल मानिसले बोलाउनै छाडे’, सन्देश भन्छन्, ‘आफ्नो जग्गाजमीन छैन, काम पाइँदैन, अनि छोराछोरीको पेट कसरी भर्नू ?’
धनकला र सन्देशका घरमा मात्र होइन विपन्न बस्तीका धेरै नागरिकका घरमा यस वर्ष दशैँमा चुल्हो बल्न मुश्किल छ । यहाँका धेरै नागरिक होटल, घर सरसफाइ, ज्यालादारीको गर्थे । यी सबै काम बन्द छन् । ‘यहाँ दशैँ होइन दशा आएको छ । अलिअलि हुनेले छोराछोरीलाई नयाँ लुगा, सरसामान किनमेल र माछामासु खाएको देख्दा नहुनेको मन कँुडिएको छ’, स्थानीयवासी रुपकेश सुनार भन्छन्, ‘धनी र गरीबसँगै बस्नु राम्रो रहेनछ, देखासिकी र तडकभडकले विपन्नलाई पीडा दिन्छ ।’ रुपकेशले भएकाले नभएकालाई खुवाएर, बाँडीचुँडी गरेर दशैँ मनाउनाको साटो यहाँ देखासिकी गर्ने चलनले चाडपर्वले ऋणको भारी बोकाउने गरेको बताए ।
कोरोना संक्रमणका कारण लकडाउन भएपछि अतिविपन्न परिवारलाई यहाँका स्थानीय सरकारले खाद्यान्न वितरण गरेका थिए । एकतानगरकी सुदीक्षा दमाईँ दशैँ, तिहारजस्ता पर्वमा स्थानीय सरकारले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । ‘सरकार नजीकै छ । हामी भोकै मर्ने अवस्था आइसक्यो’, उनी भन्छन्, ‘‘पहिले पहिले मागेर खान्थ्यौँ, आजभोलि अरुका घरमा जान नि डर लाग्छ । यस्तो बेलामा राहत दिए कति खुशी हुने थियौँ ।’
कैलालीका धेरै नागरिक रोजगारीका सिलसिलामा भारत जान्छन् । परिवार यता बस्ने, पुरुषले कमाएको रकमले धेरैको घर चल्छ । कोरोना महामारीपछि मात्रै भारत तथा विदेशमा रहेका चार हजार नेपाली टीकापुर फर्किएका छन् । ‘६ महिनासम्म नकमाएपछि घरमा आर्थिक समस्या नहुने कुरै भएन’, स्थानीयवासी रुपेश ओली भन्छन् ‘भारतबाट फर्केकाहरुले यहाँ काम पाएनन्, अहिले भारत जाने वातावरण पनि छैन, कतिपय परिवार त भोकमरी हुने देखिएपछि यहीबीचमा भारत पसेका छन् ।’
टीकापुर– १ का वडाध्यक्ष गंगाराम आचार्य कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबै क्षेत्र तहसनहस भएको बताउँछन् । ‘हामीले लकडाउन भएको करीब एक महिनापछि विपन्न सबैलाई खाद्यान्न दियौँ, हजारौँ परिवारले राहत पाए’, उनी भन्छन्, ‘‘चुल्हो नै नबल्ने परिवारका घरमा चुल्हो बाल्नेछौँ, वडा कार्यालयले नगरपालिकासँग पहल गर्नेछ ।’














