काठमाडौं । जेनजी सरकारमा मन्त्री बन्न ठिक्क परेपछि पूर्वस्वास्थ्यसचिव डा। संगीताकौशल मिश्र रोकिइन । स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा। मिश्रले अतिरिक्त सचिवबाट राजीनामा दिएर तयारी अवस्थामा बसेको बेला उनी रोकिइन ।

त्यसको केही दिनमै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोडमाथिको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गर्यो । उसो त उनी स्वास्थ्य सचिव हुन नपाएपछि ६ महिना बिदामा बसेकी थिइन् ।
जेनजी आन्दोलनका कारण स्वास्थ्य मन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औँ तहकी अतिरिक्त सचिव डा। मिश्र मन्त्रालय फर्के पनि काम गरेकी थिइनन् । उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्ष २१ फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् ।
वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै असन्तुष्ट बनेकी डा। मिश्रले निरन्तर बिदा थप्दै ६ महिनासम्म बिदामा बसिन् । डा. संगीताले त्यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिसकेकी छिन् ।
स्वास्थ्य सचिव नियुक्त गर्दा वरिष्ठता मिचेर डा. देवकोटालाई सचिव बनाइएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि अहिलेसम्म सुनुवाइ भएको छैन ।
चिकित्सा सेवामा २०५७ सालमा सेवा प्रवेश गरेको र एक वर्ष काम गरेर जागिर छाडेकी थिइन् । त्यसपछि अध्ययन र निजी संस्थाहरूमा काम गरेकी डा। संगीता २०७० सालमा ११औँ तहबाट फेरि स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन् ।
कोरोना महामारीमा कोशी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेकी डा। मिश्रले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक र स्वास्थ्य विभागको महानिर्देशक बनिन् । स्वास्थ्य मन्त्रालयमा चतुर खेलाडीको रूपमा डा। मिश्र चिनिन्छिन् ।
मन्त्री बन्न लागेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहमति प्रकट मात्र गरेन मुद्दा नै जान लागेको फाइल प्रधानमन्त्री कार्यालयमा पठाइदियो । त्यसको केही दिनमै आयोगले गत २ कात्तिकमा पूर्वसचिव डा. संगीता कौशल मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग¥यो ।
उनीमाथि थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. संगीता कौशल मिश्र, निर्देशक डा. श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमाल लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको थियो ।
त्यसक्रममा अख्तियारले १४ करोड ६ लाख ८५ हजार पाँच सय रुपैयाँ बिगो दाबी गरेको थियो । ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा।लिका त्यसका सञ्चालक सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर भएको थियो । मिश्रमाथि १४ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । प्रति थान २ करोड ५१ लाख रुपैयाँका दरले ५ वटा मेसिनका लागि १२ करोड ५५ लाखको प्रस्ताव थियो । तर भ्याट समेत जोडेर १४ करोड १८ लाखको लागत तयार पारिएको थियो ।
यही मुद्दाको थुनछेक बहसपछि अदालतले उनीसँग पाँच लाख धरौटी माग गर्ने आदेश जारी ग¥यो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रसँग धरौटी माग गर्ने आदेश गरेको हो ।
‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी संगीताकौशल मिश्रबाट प्रस्तुत मुद्दा पुर्पक्षका लागि नगद धरौटी पाँच लाख रुपैयाँ वा सोबराबरको बैंक जमानत लिई निजलाई तारिखमा राख्नू’ अदालतको आदेशमा उल्लेख छ ।
अख्तियारको मुद्दाकै कारण जेन–जी सरकारमा स्वास्थ्यमन्त्री बन्न लागेकी उनको नियुक्ति अन्तिम समयमा रोकिएको थियो । अख्तियारले यो विषयमा असहमति प्रकट गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ । अख्तियारले यस्ता धेरै मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले ठूलो बिगोमा सानो परिमाणको धरौटी माग गरेकोमा अख्तियारको सधैँ असन्तुष्टि रहँदै आएको छ ।











