काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहँदा हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृह मन्त्रालयले अध्ययन सुरु गरेको छ ।

फागुन महिनासम्म पनि हिमाली क्षेत्रमा बाक्लो हिउँ र चिसो यथावत् रहने भएकाले त्यहाँका अधिकांश बासिन्दा बेंसी झरेर बस्ने अवस्था रहन्छ । यही कारण उच्च हिमाली भेगका मतदानस्थल यथास्थानमा राख्दा मतदानमा सहभागिता प्रभावित हुन सक्ने निष्कर्षसहित मतदानस्थल नै सार्ने विकल्पबारे गृहकार्य थालिएको हो ।
गृह मन्त्रालयका एक अधिकृतका अनुसार, २१ फागुनको समयमा पनि उच्च हिमाली क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने संख्या न्यून हुने भएकाले मतदानस्थललाई बेंसीतिर स्थानान्तरण गरेर निर्वाचन गराउने सम्भावनाबारे अध्ययन भइरहेको छ ।
उनका अनुसार यस विषयमा सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरेर तयारी अघि बढाइएको छ । सुरक्षाकर्मीहरू पनि सो अवधिमा बेंसीमै तैनाथ हुने भएकाले मतदानस्थल सारेर निर्वाचन व्यवस्थापन गर्न सकिने विकल्पलाई व्यवहारिक रूपमा हेरिएको ती अधिकृतले बताए ।











