बुटवल । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसी लगायत नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रका मुख्य बुँदा :-
- तीन तहको संघीयता खारेज, त्यसमा हुने खर्च शिक्षा र स्वास्थ्यमा लगानी ।
- शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निशुल्क ।
- सबै तहका भ्रष्टाचारबारे उच्चस्तरीय आयोगमार्फत छानबिन र कारबाही ।
- कृषि आधुनिकीकरण, भूमिसुधार, किसान अनुदान, बीउ–मलको सहज व्यवस्था, कृषिजन्य उत्पादनमा विदेशी हस्तक्षेप नियन्त्रण ।
- उद्योग संरक्षण, विदेशी तथा दलाल पूँजीको रोकथाम ।
- वातावरणीय संरक्षण, प्राकृतिक स्रोतको दुरुपयोग नियन्त्रण ।
- जलस्रोतको विकास, जलविद्युत र औद्योगीकरणमा जोड ।
- विदेश नीति राष्ट्रियता, सार्वभौमिकता र समानतामा आधारित । असमान सन्धि र एमसिसी खारेज ।
- श्रम अधिकार सुनिश्चित, बेरोजगारका लागि योजना, नो-वर्क नो-पे नीति खारेज ।
- बालबालिका, एकल महिला, जेष्ठ नागरिक, महिला–दलित तथा फरक क्षमता भएका व्यक्तिका लागि विशेष हक–हित सुनिश्चित ।
- प्रत्यक्ष तर्फ ७० र समानुपातिक ११० उम्मेदवार उठाउने योजना ।
अध्यक्ष केसीले मतदातालाई भ्रममा नपर्न सचेत रहन र देशको भविष्य सम्झेर मतदान गर्न आग्रह गरेका छन् । नेतृ दुर्गा पौडेलले सहकारी ठगी तथा विध्वंसमा संलग्न नयाँ उम्मेदवारबारे सचेत रहन आग्रह गरिन् ।











