
काठमाडौं । काठमाडौं–५ सधैं वामपन्थी प्रभाव बलियो मानिने क्षेत्र हो । यही क्षेत्रमा एमाले आन्दोलनको लामो विरासत बोकेका ईश्वर पोखरेल फेरि चुनावी मैदानमा उत्रिएका छन् । उनी काठमाडौं उपत्यकाभित्र प्रतिस्पर्धामा रहेका थोरै ‘हेभिवेट’ नेतामध्ये एक हुन् । यसपालि उपत्यकामा शीर्ष नेताहरूको उपस्थिति कम भए पनि तीमध्ये अधिकांश काठमाडौं–५ मै केन्द्रित छन् ।
पोखरेलसँगै कांग्रेस महामन्त्री प्रदीप पौडेल र राप्रपाका नेता कमल थापा पनि यही क्षेत्रबाट आमनेसामने हुँदैछन् । पोखरेलका लागि यो छैटौं संसदीय प्रतिस्पर्धा हो भने पौडेल र थापाका लागि दोस्रो । बाँकी उम्मेदवार भने प्रायः पहिलो पटक मतदातासामु उभिएका छन् । यसअघि भएका स्थानीय तहका निर्वाचन परिणाम हेर्दा यो क्षेत्र एमालेका लागि अनुकूल देखिन्छ ।
काठमाडौं महानगरपालिकाका चारवटै वडा, बुढानीलकण्ठका पाँचमध्ये दुई वडा र टोखा नगरपालिकाका अधिकांश वडा एमालेले जितेका छन् । कुल १५ वडामध्ये ११ वडामा एमाले, तीनमा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।तर संसदीय निर्वाचनमा भने एमालेको प्रदर्शन सधैं सन्तोषजनक रहन सकेको छैन । २०६४ अघि यो क्षेत्र एमालेको गढ मानिन्थ्यो ।
नानीमैया दाहालदेखि पद्मरत्न तुलाधर, मनमोहन अधिकारी हुँदै ईश्वर पोखरेलसम्म आइपुग्दा यो भूगोलसँग एमालेको राजनीतिक इतिहास गहिरो रूपमा गाँसिएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री बनेका बेला उनका प्रमुख सल्लाहकार रहेका पोखरेल २०५६ सालमा पहिलो पटक यही क्षेत्रबाट निर्वाचित भए । त्यसयता उनले पराजय र विजय दुवै स्वाद चाख्दै आएका छन् ।
काठमाडौं–५ को वर्तमान स्वरूप भने २०६४ सालपछि बनेको हो । त्यसपछि भएका निर्वाचनमा पोखरेल दुई पटक नरहरि आचार्यसँग पराजित भए । २०७४ मा गठबन्धनको बलमा विजयी भए र २०७९ मा प्रदीप पौडेलसँग फेरि पराजित हुन पुगे । २०७४ मा २३ हजारभन्दा बढी मत ल्याएर जितेका पोखरेल २०७९ मा भने १० हजारमै सीमित भए, जबकी पौडेल १५ हजारभन्दा बढी मतसहित सांसद बने ।
यसपालि मैदान अझै रोचक बनेको छ । एमाले, कांग्रेस र राप्रपा तीनै दलले आफ्ना स्थापित अनुहार उतारेका छन् । यी तीनबाहेक २५ जना अन्य उम्मेदवार छन्, जसमा अधिकांश दलका प्रतिनिधि हुन् । नेकपाले कल्पना शर्मालाई अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ ।
कल्पना राजनीतिक घराना र शान्ति प्रक्रियादेखि नै यही भूगोलमा सक्रिय अनुहार हुन्। यता सस्मित यसअघि पनि यही क्षेत्रमा उम्मेदवार भइसकेका छन् र सहरी मतदाताबीच परिचित नाम मानिन्छन् । उनी बालेन शाहको सचिवालयदेखि संघीय सांसदको सचिवालयसम्म काम गरिसकेका छन् ।
यता गतिशील लोकतान्त्रिक पार्टीबाट कलाकार तथा हिमाल आरोही निशा अधिकारी पहिलो पटक चुनावी राजनीतिमा प्रवेश गरेकी छन् । स्वास्थ्य, वृद्ध हेरचाह र महिला अधिकारलाई मुख्य एजेन्डा बनाएर उनी घरदैलोमा छन् । कांग्रेसका पौडेल अघिल्लो निर्वाचनको फराकिलो जित दोहोर्याउने आत्मविश्वासमा देखिन्छन् । मन्त्रीका रूपमा विवादरहित छवि बनाएको र सहरी मतदाताबीच विश्वास कायम रहेको उनको बुझाइ छ ।
उता सस्मित पोखरेल भने जेनजी मतदातामा देखिएको असन्तोष र नयाँ राजनीतिक लहर आफ्नो पक्षमा आउनेमा ढुक्क देखिन्छन् । २०७९ मा समानुपातिकतर्फ रास्वपाले यस क्षेत्रमा सबैभन्दा बढी मत ल्याएको तथ्यलाई उनी आधार मान्छन् ।
टोखा देखि नारायणहिटीसम्म फैलिएको काठमाडौं–५ सहरी ‘एलाइट’ बसोबास भएको क्षेत्र हो ।
सुरक्षा निकाय, निजामती सेवाका उच्च पदस्थहरू यहीँ केन्द्रित छन्, जसले नतिजा बदल्न सक्छन् । राप्रपाको उपस्थिति पनि कमजोर छैन । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा उसले उल्लेख्य मत र एक सिटसमेत जितेको थियो ।
यसरी हेर्दा, इतिहास, संगठन, नयाँ लहर र सहरी मतदाताको मनोविज्ञान सबै तत्व मिसिएको काठमाडौं–५ को चुनाव यसपटक पनि सहज अनुमान गर्न नसकिने तर निकै चासोको केन्द्र बनेको छ ।











