काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसले सद्भावलाई गाँस्ने काम गर्ने बताएका छन् । बिहीबार रामेछाप कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भदौ २३ र २४ पछि नेपाली समाजमा अविश्वास बढेको र समाजमा टुटेको सद्भावलाई काँग्रेसले जोड्ने बताए ।

उनले काँग्रेसले पार्टीमा आमुल परिवर्तन गरेर निर्वाचनमा होमिएको बताउँदै काँग्रेसले सद्भाव जोड्नेदेखि सुशासनको पक्षमा काम गर्ने दाबी गरे । उनले काँग्रेसले अहिले विगतमा गरेका राम्रा काम जनतामा लैजाने र गरेका गल्तिप्रति माफी माग्दै अगाडी बढ्ने स्पष्ट गरे ।
उपसभापति शर्माले सद्भाव, सुशासन र उन्नतिको मुद्धालाई अगाडी बढाउन काँग्रेसले सभापति गगन थापालाई अगाडी बढाएको बताए ।
उनले काँग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार रहका सभापति गगन थापालाई टुँडिखेलमा होस् या रङ्गशालामा होस् बहस गर्न पठाउन तयार रहेको बताए । उनले काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवारसँग अनुभव पनि छ उत्साह पनि छ, संयम पनि छ, परिपक्वता पनि छ धैर्यता पनि छ र भिजन पनि रहेको बताए ।











