Logo
Logo

‘अमेरिकी पेलाई’ विरुद्ध युरोपेली कार्ड


378
Shares


भारतले ७७औँ गणतन्त्र दिवस मनाइरहँदा यूरोपका दुई जना विशिष्ट व्यक्तिहरूलाई उक्त दिवसको मुख्य अतिथि बनायो । युरोपेली युनीयनकी अध्यक्ष उरसुला भोन डेर लियन र यूरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोष्टालाई मुख्य अतिथि बनाएर भारतले महत्त्वपूर्ण सन्देश दिएको छ । उसले सिंगो युरोपसँग बलियो सम्बन्ध बनाउन गणतन्त्र दिवसमा प्रमुख अतिथिको सम्मान दिएको हो ।

यो घटनासँगसँगै गणतन्त्र दिवसको ठिक दुई हप्ताअघि जर्मनीका चान्सलर फ्रेडरिक मर्ज भारत भ्रमणबाट फर्र्किएका थिए । युरोपको शक्तिशाली देश जर्मनीका नेताको भारत भ्रमणले निकै महत्त्व पाएको थियो । त्यो भ्रमणमा प्रतिरक्षासम्बन्धी सम्झौता हुनु थप अर्थपूर्ण रह्यो ।

भारतले गणतन्त्र दिवसमा मुख्य अतिथि बनाएर युरोपसँग विशेष सम्बन्धको सन्देश दिएको छ । ७६औँ गणतन्त्र दिवसमा इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुविआन्तो मुख्य अतिथि थिए । उनले भारतको संस्कृतिको खुलेर प्रशंशा गरे । विश्वको सबैभन्दा धेरै मुसलमान रहेको देशका राष्ट्रपति हिन्दु बाहुल्य देशको गणतन्त्र दिवसमा मुख्य अतिथि बनाएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमान देशहरूसँग पनि मित्रवत् सम्बन्ध रहेको सन्देश दिए ।

हालै मात्र पनि युएइएका राष्ट्रपति शेख मोहम्मद विन जायद अल नाहेन भारत भ्रमणमा पुगेका थिए । मोदी आफै नाहेनलाई विमानस्थलमा स्वागत गर्न पुगे र सँगै कारमा बसेर कुराकानी गरेको दृश्य विश्वव्यापी चर्चा बन्यो । तीन घन्टाको उक्त भ्रमण प्रतिरक्षासम्बन्धी विषयका महत्त्वपूर्ण रह्यो ।

मोदी अन्य देशका नेतासँगको हाँसी मज्जा देखि बडिल्याङ्ग्वेजबाट विशेष सन्देश दिने गर्दछन् । उनले चीन भ्रमणमा सी चिनफिङ र पुटिनसँगको हाँसीमज्जाबाट चीन र रुससँग विशेष सम्बन्ध रहेको सन्देश दिए । सन् २०२५ मा जी सेभेन सम्मेलनमा क्यानडा पुगेका उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन निम्तो गर्दा पनि वासिङ्टन पुगेनन् ।

ट्रम्पले पाकिस्तानी सेनापति असिम मुनिरलाई व्हाइट हाउसमा लन्च बैठक गरेपछि मोदीले कुराकानी नै बन्द गरिदिएका थिए । ट्रम्पले धेरै पटक टेलिफोन प्रयास गर्दा पनि मोदीले बेवास्ता गरिदिए । निकै प्रयासपछि मात्र दुईबीच कुराकानी चल्न थाल्यो ।

रुसबाट तेल खरिद गरेको भन्दै ट्रम्पले भारतमाथि ‘टेरिफ’ बढाएका थिए । टेरिफ युरोपमाथि पनि थोपरिँदै छ । ठिक यही बेलामा मोदीले युरोपेली देशहरूसँग सम्बन्ध सुमधुर बनाएका छन् । अमेरिकी पेलाईको सामना गर्न मोदी सरकारले यूरोपसँग सम्बन्ध विकास गरेको देखिन्छ । अमेरिकासँग हतियार व्यापारमा तगाराहरू आउन थालेपछि भारतले ध्यान रुससँगै युरोपेली युनियनका बलिया देशहरू जर्मनी र फ्रान्सतर्फ बढी खिचिसकेको छ । मोदी सरकारले रणनीतिक चार्तुयता देखाएर भारतलाई बलियो बनाउँदै लगेको परिणामहरूले देखाइरहेको छ ।

युक्रेन युद्धमा भारतले रुसबाट सस्तो तेल खरिद गरेर ठूलो मुनाफा कमाएको छ । तेल र ग्याँसमा परनिर्भर भारतको अर्थतन्त्रमा यसले ठूलो सुधार ल्याएको छ । अमेरिकी टारिफका बाबजुद भारतको अर्थतन्त्रले अपेक्षा गरेभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको छ । विश्वको चौथो धनी देश बनिसकेको भारत यसै वर्ष अर्को फड्को मार्दै तेस्रो धनी देश बन्ने प्रक्षेपण छ । भारतले सैन्य क्षेत्रमा ठूलो प्रगति हासिल गरेको छ । रुससँग मिलेर ब्रम्होस मिसाइल उत्पादन गरेको छ ।

यो मिसाइल पाकिस्तानसँगको युद्धमा सफल प्रयोग भइसकेको छ । त्यस्ता हतियारको माग विभिन्न देशबाट भइसकेको छ । भारतले हतियारको उत्पादनमा लगानी बढाइरहेको मात्र छैन बजार पनि बढाइरहेको छ । हतियारमा आत्मनिर्भर भई निर्यातबाट अर्थतन्त्रलाई अझ गति दिने लक्ष्य भारतको देखिन्छ । त्यही दिशामा भारतका सरकारी र निजी कम्पनीहरू सक्रिय छन् ।

भारतका हतियार निर्माता कम्पनीहरूले सन् २०२५ को अन्ततिर रुसमा गरेको बैठक निकै चासो र चर्चामा रह्यो । भारतले फ्रान्ससँग मिलेर हामर मिसाइल प्रणाली निर्माण गर्ने सम्झौता गरिसकेको छ । जर्मनीसँग सैन्य सामाग्रीको सहनिर्माण र सहविकासको विषय मोदीले बोलेका छन् ।

भारतले द्विपक्षीय सैन्य सामाग्री निर्माण र व्यापारमा जर्मनीसँग सम्झौता गरेको छ यसै वर्ष । मोदी प्रधानमन्त्री भएपछि भारतले राष्ट्रलाई केन्द्रमा राखेर सैन्य सामाग्री उत्पादनका अलावा अन्य व्यापारसम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू गरिरहेको छ । तेल खरिददेखि हतियार सम्झौता कारण भारतमाथि अमेरिकी दबाब बढ्दो छ । तर, मोदी सरकार भारतलाई जसले सस्तोमा तेल दिन्छ उसैसँग खरिद गर्छ भनिरहेको छ । यसका लागि रुस, फ्रान्स, जर्मनी, इजरायललगायत देशहरूसँग मिलेर हतियार निर्माणलाई गति दिएका छन् ।

आर्थिक प्रगतिले मात्र पनि देश बलियो हुँदैन भन्ने बुझाई मोदीको देखिन्छ । टनका टन सुन रहेको भारतको सोमनाथ मन्दिर अफगानिस्तानबाट छिरेका महमुद गजनवीले आक्रमण गरी लुटेको इतिहास स्मरण मोदी आफँैले गरेका छन् यसपटक । हजार वर्षअघि सोमनाथ मन्दिर गजनवी नेतृत्वको सेनाले लुटेको स्मरणमा सोमनाथमा विशेष कार्यक्रम नै भयो ।

मोदीले गुजरात पुगेर इतिहास सम्झदै आक्रमणकारीले लुटपाट गरी मन्दिर भत्काएपनि सभ्यता झन् मजबुत बनेको र मन्दिर फेरि निर्माण गरिएको बताए । भारतको मन्दिर र समृद्ध शहरहरुमाथि कैयन पटक आक्रमण भएर लुटिए । विदेशी उपनिवेशकारीले भारतमा शासन मात्र गरेनन् सम्पत्ति समेत लुटेर लगेको इतिहास छ ।

विश्वकै सबैभन्दा ठूलो हिरा कोहिनुर भारतबाट बेलायत पुगेको थियो । कुनैबेला विश्वकै धनी देश थियो भारत । तर, आर्थिक समृद्धिका बाबजुद सैन्य बलमा कमजोर हुँदा भारत बाह्य शक्तिबाट शासित भयो । त्यसैले भारतले सैन्य शक्ति वृद्धिमा उत्तिकै ध्यान दिइरहेको छ जति आर्थिक वृद्धिमा ।

भारतका धनाढ्य अम्बानी, अडानीलगायत उद्दोगी हतियार निर्माणमा समेत लगानी गरिरहेका छन् । मोदी सरकार बनेपछिको १२ वर्षमा भारतले सैन्य प्रविधिमा व्यापक सुधार गरेको छ । पुराना हतियारलाई विस्थापित गर्दै नयाँ खरिद गर्ने र उत्पादन गर्ने गरिरहेको छ ।

विश्वको २० प्रतिशत जनसंख्या भइकन भारत केही शताब्दी गरिब भयो । अंग्रेजको उपनिवेशकालमा भारत झन् झन् गरिब भयो । उपनिवेशपछि भारतलाई दरिद्रहरूको देशको रूपमा सँसारभर बदनाम गरियो । उर्वर भूमि भइकन भारत गहुँ जस्ता खाद्यान्न आयात गर्दथ्यो । अंग्रेजबाट स्वतन्त्र भई गणतन्त्र भारत बनेपछि २०औँ शताब्दीसम्म विश्वका प्रभावशाली देशहरूमा उसको गणना नै थिएन । २१औँ शताब्दीमा भारतले नयाँ गति समात्यो ।

मोदीकालमै भारतले चन्द्रमामा यानको सफल अवतरण गरायो । भारतीयहरूको जीवनस्तर निकै उठ्यो । सामाजिक सुधार उत्तिकै भयो । सहरहरूको विकास आक्रामक शैलीमा देखियो । शिक्षा, स्वास्थ्यमा व्यापक सुधार भयो । आरएसएसको कार्यकर्ताका रूपमा काम गरेर राजनीतिमा आएका मोदीले जनतासँग जोडिएर चल्नुपर्छ भन्ने बुझेका थिए । उनले जनतासँग जोडिएर आफूलाई राजनीतिमा अघि बढाए । प्रधानमन्त्री भएपछि पनि उनको त्यस्तै शैली छ ।

जनता केन्द्रित विकास र देश केन्द्रित कूटनीति चाल्दै आए । भारतलाई आर्थिक रूपमा बलियो बनाउँदै लाँदा सैन्य बलमा पनि अब्बल बनाउँदै लगेका छन् । वर्तमानमा भारत विश्व मञ्चमा प्रभावशाली खेलाडीका रूपमा उभिएको छ । ७७ वर्षअघि दरिद्रहरूको देश भारत आज विश्वमा फरक परिचय बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्