Logo
Logo

चुनावी अग्निपरीक्षामा चार ‘हेभीवेट’: कसको किल्ला कति सुरक्षित ?


1.1k
Shares

काठमाडौं । नेपाली राजनीतिको आगामी यात्रा तय गर्ने ‘भावी प्रधानमन्त्री’का चार प्रमुख अनुहारहरू अहिले चुनावी अग्निपरीक्षाको संघारमा छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आ–आफ्नो दलबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमै अगाडि सारिएका छन् । यता संसदीय अंकगणितको जादुमयी खेलमा माहिर मानिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अघोषित तर स्वाभाविक दाबेदार हुन् । यी चारै शक्तिशाली नेताहरूको राजनीतिक भविष्य उनीहरूकै निर्वाचन क्षेत्रको बदलिँदो मनोविज्ञानमा निर्भर देखिन्छ ।

एकातिर दलीय संगठनको विरासत र पुरानो मतदानको प्रवृत्ति छ भने अर्कोतिर ‘जेन जी’ आन्दोलनपछि ह्वात्तै बदलिएको मतदाताको सोच र सामाजिक सञ्जालको प्रभाव । यसै पृष्ठभूमिमा, प्रत्येक उम्मेदवारले आफ्नै प्रकारका जटिल चुनौती र रणनीतिक अनुकूलताहरूको सामना गरिरहेका छन्, जसले आगामी सत्ता समीकरणको मार्गचित्र कोर्ने निश्चित छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५बाट बारम्बार जित्दै आएको क्षेत्र हो । उनले पटकपटक जितेको क्षेत्र भए पनि यसपटक पूर्ण सुरक्षित मान्न सकिँदैन । किनकि २०६४ मा उनी माओवादीका सामान्य कार्यकर्तासँग पराजित भएको इतिहास छ । गत निर्वाचनमा एमाले र राप्रपाको तालमेल हुँदा ओलीले ५२ हजार ३ सय १९ मतका साथ भारी जित निकालेका थिए भने कांग्रेसका खगेन्द्र अधिकारी र रास्वपाका सुरेश कुमार पोख्रेलले क्रमशः दोस्रो र तेस्रो मत पाएका थिए ।

यसपटक १५ दलीय र ९ स्वतन्त्र गरी २४ उम्मेदवार मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका पनि उम्मेदवार मैदानमा खडा भएको हुँदा मत–गणित गत निर्वाचनको भन्दा फरक हुने निश्चित छ । ओलीका लागि शहरीया युवा मतदाताको ‘स्वीङ’ हुन सक्ने भोट, जेनजी आन्दोलनमाथि दमन गरेको आरोप, ११औं महाधिवेशनपछि पार्टीभित्रै नेतृत्व परिवर्तन चाहने तप्काबाट हुन सक्ने अन्तर्घात, र विभाजित कम्युनिस्ट मत (विशेष गरी नेकपाका रञ्जित तामाङको उम्मेदवारी) ठूला चुनौती हुन् ।

साथै, २०४६ यता ७ मध्ये ६ पटक चुनाव जितेकाले उनीविरुद्ध ‘एन्टी–इन्कम्बेन्सी’को लहर चल्ने सम्भावना व्यापक देखिन्छ । र अर्का भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह नै प्रतिस्पर्धी हुँदा मतदाता नयाँ शक्ति संरचनातिर ढल्किने जोखिम छ । यति हुँदाहुँदै पनि ओलीका लागि पुरानो स्थानीय सम्बन्ध र एमालेको दह्रो संगठन नै मुख्य अनुकूलता हो ।

झापा–५ मै उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका लागि यो क्षेत्र चुनौतीपूर्ण छ । तर, पनि उनका केही सबल पक्षहरू छन् । सामाजिक सञ्जालको लोकप्रियता, काठमाडौंको मेयर हुँदा आर्जेको साख र भदौ २३–२४ को जेनजी विद्रोहको सहजीकरणले उनलाई राष्ट्रिय राजनीतिमा नायकका रूपमा स्थापित गरेको छ ।

यद्यपि २४ गतेको विध्वंशका लागि उनलाई पनि जिम्मेवार मानिन्छ । भावी प्रधानमन्त्रीको घोषणासहित ओलीसँग सिधै भिड्ने उनको आँटले मतदातामा मनोवैज्ञानिक प्रभाव पारेको छ । यो चुनाव बालेनका लागि भन्दा ओलीका लागि बढी निर्णायक छ । किनकि बालेन पराजित भए पनि उनको राजनीतिक भविष्य बाँकी रहन्छ, तर ओली पराजित भएमा उनको राजनीतिक पतनको अन्तिम बिन्दु हुन सक्छ । र उनले पार्टी अध्यक्षबाट समेत हात धुनुपर्ने स्थिति आउन सक्छ ।

सर्लाही–४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि जोखिममुक्त छैनन् । जहाँ १३ दलीय र २५ स्वतन्त्र गरी ३८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यहाँ रास्वपाका अमरेशकुमार सिंह र जनमत पार्टीका राकेशकुमार मिश्रसँग गगनको त्रिकोणात्मक भिडन्त हुने देखिन्छ । गत निर्वाचनमा कांग्रेसकै बागीका रूपमा स्वतन्त्र उठेका अमरेश सिंहले २० हजार १७ मत ल्याएर जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार दोस्रो भएका थिए ।

अहिले अमरेश रास्वपा प्रवेश गर्नु, तेस्रो स्थानमा रहेकी माओवादी बागी मधुमाला कुमारी यादवको परिवार एमालेमा जानु र जसपाका उम्मेदवार जनमतबाट उठ्नुले समीकरण निकै जटिल बनाएको छ । गत चुनावमा एमाले र माओवादीका आफ्नै उम्मेदवार नहुँदा त्यसको फाइदा अमरेशलाई पुगेको थियो, तर यसपटक सबै दलका उम्मेदवार छुट्टाछुट्टै छन् । कांग्रेसको बागी मत अमरेशतिरै रहन्छ वा पार्टीमा फर्किन्छ भन्ने कुराले गगनको हारजित तय गर्नेछ । यद्यपि विगतमा कांग्रेस यो क्षेत्रको सबैभन्दा ठूलो दल थियो, तर अमरेशको विद्रोह र अन्य साना दलहरूको मत विभाजनका कारण गगन थापा चुनौती र पराजयको जोखिमबाट पूर्णतः बाहिर छैनन् ।

यता थापा, शाह र ओलीको तुलनामा रुकुम पूर्वबाट उम्मेदावरी दिएका प्रचण्ड बढी सुरक्षित छन् । यो क्षेत्र माओवादी जनयुद्धको मुख्य आधार इलाका हो । र २०६४ सालदेखि यताका सबै चुनाव माओवादीले नै जित्दै आएको छ । गत निर्वाचनमा माओवादीका पूर्णबहादुर घर्ती मगरले १२ हजार २६२ मत पाउँदा एमालेका उम्मेदवारले आधाभन्दा कम मत पाएका थिए भने कांग्रेसले माओवादीलाई सघाएको थियो ।

यसपालि ११ जना उम्मेदवारमध्ये एमालेले प्रगतिशील–लोकतान्त्रिक पार्टीका सन्दीप पुनलाई समर्थन गरेको छ । कांग्रेस, रास्वपा र विप्लव नेतृत्वको माओवादीका छुट्टाछुट्टै उम्मेदवार मैदानमा छन् । पाँच कोणे तारा चुनाव चिन्ह लिएर मैदान उत्रिएका प्रचण्डको कदलाई भेट्ने प्रतिस्पर्धी छैनन् । तर, जनार्दन शर्माको विद्रोहको प्रभाव, एमाले–प्रलोपा तालमेल र चुनावैपिच्छे क्षेत्र फेर्ने प्रवृत्तिले गर्दा उनीमाथि हुने अविश्वास उनका मुख्य प्रतिकूलता हुन् । यद्यपि, ग्रामीण इलाका भएकाले त्यहाँ जेन जी आन्दोलन र सामाजिक सञ्जालको प्रभाव भने कमै पर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्