काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं-४ छाडेर सर्लाही जाने निर्णय लिँदा निकै कठिनाइ भएको बताएका छन् । शनिवार काठमाडौं-४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा समारोहमा बोल्दै थापाले निर्णय लिँदा आफूले आँसु लुकाउन नसकेको बताएका हुन् ।

उनले भने, ‘निर्णय गर्दा साथीहरू रोइराख्नुभएको थियो म रोएको थिएँ । सिङ्गो देशको नेतृत्व गर्दा मधेशलाई अँगालो हाल्नुपर्छ । मधेशलाई काठमाडौंसँग जोड्न चाहन्छु । म फुटाउने होइन जोड्ने राजनीति गर्छु ।’
आफूलाई काठमाडौं–४ छाडेर गएको नभनिदिन पनि उनले आग्रह गरे । उनले भने, ‘छोडेर गएको नभन्दिनुहोला, मलाई दुख्छ ।’ आफू काठमाडौंमै रहेको बताउँदै नयाँ जिम्मेवारी भएकाले मधेश बदल्न मात्रै गएको उनले बताए। ‘म यही छु । मैले धेरै जीवन तपाईँहरूसँगै बिताएको छु । मधेशका मुद्दा बदल्न चाहन्छु,’ सभापति थापाले भने ।
आफूले तीन पटक निर्वाचन जित्दा काठमाडौं-४ ले धेरै माया दिएको उनले स्मरण गरे । ‘०७९ मा पनि मलाई डर थियो । तर, मलाई डरबाट बाहिर निकाल्नुभयो । अवस्था त्यस्तै थियो,’ उनले भने,‘सर्लाहीमा भेटेका मान्छेलाई पनि यही भनेको छु । मलाई कांग्रेस भनेर होइन, सबैले भोट हालेर माया गर्नुभएको हो ।’
अहिले काठमाडौं-४ मा अघिल्लो निर्वाचनभन्दा सहज हुनेवाला रहेको सभापति थापाले दाबी गरे । ‘सकारात्मक वातावरण थियो । अन्तिमसम्म यहीँबाट लड्नुपर्छ भन्नुभएको थियो । अन्य दलका मान्छेले पनि भन्नु भएको थियो । तपाईं चाहिन्छ भन्नुभएको हो,’ थापाले भने ।











