काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुरियरमार्फत विदेश सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गर्ने तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको गोश्वारा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट आयोगको टोलीले प्रमाणसहित पक्राउ गरेको हो ।
आयोगले स्रोत नखुलेको दुई लाख ६८ हजार २८८ नगद बरामद गरेको छ । उनीहरूका साथबाट विभिन्न व्यक्तिका २३ थान मोबाइल सेटसमेत बरामद गरिएको छ । आयोगले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।











