काठमाडौं । सरकारले फागुन २१ को निर्वाचन सुरक्षाका लागि भोलि (बुधवार)देखि नेपाली सेना खटाउने भएको छ । निर्वाचन सुरक्षाका लागि एक महिनाअघिबाट सेना खटिने भएको हो ।

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने तयारी अनुसार बुधवारबाट सेना खटिन लागेको हो । एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधवारबाट सेना परिचालन हुनेछ ।
सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। सशस्त्र प्रहरीलाई पनि निर्वाचनमा खटाउने छ ।
राजनीतिक दलले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखिरहँदा निर्वाचन आयोगले सुरक्षाको वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चार वटै सुरक्षा निकाय संयुक्त रूपमा यथाशीघ्र परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले सिफारिस गरेपछि ११ मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए ।
निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुने छन् । आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुने बताइएको छ । ९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएको थियो। यही योजनाअनुसार अहिले सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य तयारी सुरु भएको थियो। आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ ।
सेनाका अनुसार नेपाली सेनाबाट मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन्। नेपाल प्रहरीका अनुसार नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिने छन् । प्रहरी मातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुने र उनीहरूको तालिम सुरु भइसकेको छ । सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुने छन् । त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिने छन् ।











