काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनबाट आउने जनमत स्वीकार्ने स्पष्ट पारेका छन् ।

तर, षड्यन्त्रपूर्ण ढंगले पुरानो संसद् पुनःस्थापना गर्ने कुनै पनि प्रयास आफूहरूले स्वीकार नगर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै लामिछानेले देश निर्णायक मोडमा पुगेको उल्लेख गरेका छन् । उनले देश ‘अन्तिम सुनामीको तयारीमा’ रहेको टिप्पणी गर्दै पुराना राजनीतिक शक्तिलाई खुलेआम वा गोप्य रूपमा गठबन्धन गरेर देखाउन चुनौती दिएका छन् ।
‘जो-जो मिल्न चाहन्छन्, मिलून् । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाएर यो सुनामी रोकेर देखाऊ,’ लामिछानेले लेखेका छन् । ‘हामी निर्वाचनबाट आउने मत परिणाम स्वीकार गर्छौँ, तर जनआन्दोलनले उखेलेर फालेको पुरानो संसद् षड्यन्त्र, दबाब वा धम्कीमार्फत फर्काउने कुनै पनि चलखेल स्वीकार्दैनौँ ।’
उनले आगामी फागुन २१ गते सामान्य मिति नभएको उल्लेख गर्दै त्यस दिन जनताको निर्णय निर्णायक हुने दाबी गरेका छन् ।











