काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यथाशीघ्र फैसला गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

तोकिएको मितिमा निर्वाचन हुने विषयमा उक्त मुद्दाले अनिश्चितता सिर्जना गरिरहेको उल्लेख गर्दै उनले यसलाई चाँडै टुंग्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार नेपाल कानून समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्यालले राज्यका अंगहरूले समयमै आफ्नो जिम्मेवारी पूरा नगर्दा मुलुकमा विभिन्न समस्या उत्पन्न हुने गरेको स्मरण गराए । उनले निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा कानुनी अन्योल कायम रहनु उचित नहुने तर्क गरे ।
‘चुनाव तोकिएकै समयमा हुनुपर्छ । तर सर्वोच्च अदालतमा रहेका विषय पनि समयमै टुंग्याइदिनु राम्रो हुन्छ,’ उनले भने, ‘निर्वाचनको कार्यक्रम अघि बढिसकेको छ । त्यस्ता विषय स्पष्ट निर्णय गरेर टुंग्याइसक्नुपर्छ । अनावश्यक शंका राखिरहनु हुँदैन । राज्यका अंगहरूले प्रभावकारी रूपमा काम नगर्दा विभिन्न समयमा समस्या देखिँदै आएका छन्, यो शासन प्रणालीकै कमजोरी हो ।’
पूर्वमुख्यसचिव अर्यालले निर्वाचनको मिति सार्ने कुनै विकल्प नरहेको स्पष्ट पार्दै तोकिएकै मितिमा सबै तहका निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिए ।











