Logo
Logo

नेपालीको गर्व राहुल बाबु


0
Shares

काठमाडौं । नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित अन्तर्राष्ट्रिय पाककला प्रतियोगितामा उत्कृष्ट ठहरिएर सम्मानित भएका छन्।

युएईमा सम्पन्न प्रतिष्ठित ‘द गोल्ट एन्ड मिलो २०२६ अवार्ड’ समारोहमा व्यक्तितर्फ श्रेष्ठसहित पाँचजना सेफलाई सम्मान गरिएको हो।

फेब्रुअरी २, २०२६ मा युएईको चर्चित होटल ‘एटलान्टिस द रोयल’ मा सम्पन्न समारोहमा श्रेष्ठले ‘फ्युचर ग्रेट अफ द इयर’ विधामा अवार्ड प्राप्त गरेका हुन्। उक्त विधामा श्रेष्ठसहित पाँचजना सेफ सर्टलिस्टमा परेका थिए, जसमध्ये चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले अवार्ड हात पारेका हुन्।

हाल श्रेष्ठ युएईको दुई मिसेलिन स्टार प्राप्त रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफको रूपमा कार्यरत छन्। समारोहमा विभिन्न विधामा १२ वटा रेस्टुरेन्टलाई पनि अवार्ड प्रदान गरिएको थियो।

श्रेष्ठ विश्वका प्रतिष्ठित फाइन डाइनिङ सेफहरूको सूचीमा रहेका नाम हुन्। उनले मिसेलिन गाइड २०२५ मा लगातार दोस्रो वर्ष दुई मिसेलिन स्टार कायम राख्न सफल सेफको रूपमा आफ्नो स्थान सुरक्षित गरेका छन्। उनको यो सफलता विश्वस्तरीय पाककला क्षेत्रमा उत्कृष्टता र नवप्रवर्तन कायम राख्न सक्ने क्षमताको पुष्टि गर्दछ।

बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लिया मा अध्ययन गरेका श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना चितवनको को–इ समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन्।

परिवारको परम्परागत व्यवसायभन्दा फरक बाटो रोज्दै पाककला क्षेत्रमा करिअर बनाएका उनले विश्वविद्यालय अध्ययन पूरा गरेपछि फ्रान्सको चर्चित ‘ले म्यान्वार ओ क्वा सैजों’ तथा मार्कस वेयरिङको ‘द स्क्वायर’ जस्ता मिसेलिन स्टार प्राप्त भान्साहरूमा प्रशिक्षण लिएका थिए। त्यसपछि लन्डन, सिंगापुर र नर्वेका ख्यातिप्राप्त रेस्टुरेन्टमा काम गर्दै उनी युएई पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्