Logo
Logo

बैंकमा खराब कर्जाको जोखिम


504
Shares

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले वाणिज्य बैंकिङ क्षेत्र नाफामुखी देखिए पनि त्यसको भित्री संरचना अझै जोखिममै रहेको स्पष्ट संकेत गरेको छ । तथ्यांकमा कुल नाफा दोहोरो अंकले बढेको देखिए पनि बैंकहरूको वास्तविक अवस्था सुध्रिएकोभन्दा पनि अस्थायी कारकले नाफा उचालिएको देखिन्छ ।

अधिकांश बैंकमा निष्क्रिय कर्जा बढ्दो क्रममा छ, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने प्रोभिजन भार थपिँदै गएको छ र नयाँ कर्जाको माग सुस्त अर्थतन्त्रका कारण कमजोर नै छ । यस्तो अवस्थामा देखिएको नाफाको वृद्धि बैंकिङ प्रणाली सुदृढ हुँदै गएको संकेत होइन, बरु दबाबग्रस्त संरचनाभित्र देखिएको सतही चमक मात्रै हो भन्ने निष्कर्ष दोस्रो त्रैमासिक वित्तीय विवरणले दिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले वाणिज्य बैंकिङ क्षेत्र सतहमा नाफामुखी देखिए पनि भित्री संरचनागत समस्या अझै समाधान हुन नसकेको स्पष्ट संकेत गरेको छ ।

तथ्यांक हेर्दा बैंकहरूको कुल नाफा बढेको छ, तर त्यो वृद्धि बैंकिङ प्रणालीको समग्र स्वास्थ्य सुधारको परिणामभन्दा पनि अस्थायी र सीमित कारकमा आधारित देखिन्छ । दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले कुल ३० अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको २७ अर्ब ४३ करोड रुपैयाँ को तुलनामा ११.५१ प्रतिशतले बढी हो । तर, यो वृद्धि सबै बैंकमा समान रूपमा फैलिएको छैन । २० वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकको मात्रै नाफा बढेको छ भने ९ वटा बैंकको नाफा घटेको छ, जसले बैंकिङ क्षेत्रको अवस्था सुध्रँदै गएको भन्दा पनि नाफा केही बैंकमा केन्द्रित भएको देखाउँछ ।

बैंकहरुले जसोतसो नाफा बढेको देखिए पनि त्यसको गुणस्तर कमजोर छ । अधिकांश बैंकको नाफा वृद्धि नियमित कर्जा विस्तार, ब्याज आम्दानी वा व्यवसायिक गतिविधि बढेर आएको होइन । बरु, खर्च कटौती, अस्थायी आम्दानी, अघिल्लो वर्षमा बढी गरिएको प्रोभिजन फिर्ता (राइटब्याक) र केही एकपटक मात्रै आउने कारोबारले नाफा उकासेको देखिन्छ । उदाहरणका रूपमा, सबैभन्दा धेरै नाफा कमाउने बैंकले ठूलो परिमाणमा प्रोभिजन राइटब्याक गर्न सकेकाले नाफा उल्लेख्य रूपमा बढेको छ । यसले देखाउँछ कि नाफा वृद्धिको आधार उत्पादनशील कर्जा विस्तार होइन, लेखा व्यवस्थापन र अस्थायी कारकमा आधारित छ ।

यस अवधिमा केही बैंकको नाफा बढे पनि धेरै बैंक अझै दबाबमै छन् । एनएमबि बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनआईसी एशिया, सिटिजन्स, कृषि विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकजस्ता बैंकको नाफामा दोहोरो अंकको गिरावट आएको छ । लक्ष्मी सनराइज बैंकले त नोक्सानीमै रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसले बैंकिङ क्षेत्रभित्रै असन्तुलन बढ्दै गएको देखाउँछ– केही बैंक नाफामा देखिँदा धेरै बैंक कमजोर अवस्थामा धकेलिँदै गएका छन् ।

नाफामा देखिएको सुधारभन्दा धेरै चिन्ताजनक पक्ष भने निष्क्रिय कर्जाको निरन्तर बढ्दो दबाब हो । चालु आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा ५.०८ प्रतिशत पुगेको छ, जुन गत आवको सोही अवधिमा ४.४९ प्रतिशत थियो । अर्थात् नाफा बढ्दा पनि कर्जाको गुणस्तर झन् बिग्रिएको छ । २० वटा वाणिज्य बैंकमध्ये १२ वटा बैंकको निष्क्रिय कर्जा बढेको छ भने ८ वटा बैंकले मात्रै घटाउन सकेका छन् । यो तथ्यांकले बैंकहरूको मूल समस्या समाधान नभई उल्टै गहिरिँदै गएको देखाउँछ ।

विशेषगरी केही बैंकको निष्क्रिय कर्जा दर ८ प्रतिशतको सीमासँग नजिक पुगेको छ । हिमालयन बैंकको निष्क्रिय कर्जा ७.९६ प्रतिशत, प्रभु बैंकको ७.९४ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७.९० प्रतिशत र एनआईसी एशिया बैंकको ७.४७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले गत आवमा निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पु¥याए पनि धेरै बैंक त्यो सीमाको छेउमै पुगेका छन्, जसले भविष्यमा जोखिम झनै बढ्न सक्ने संकेत गर्छ ।

केही बैंकमा निष्क्रिय कर्जा घटेको देखिए पनि ती अपवादमै सीमित छन् । नेपाल एसबिआई बैंकको निष्क्रिय कर्जा २.४६ प्रतिशत, सिद्धार्थ बैंकको ३.४५ प्रतिशत, नबिल बैंकको ४.२५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.३६ प्रतिशत मा झरेको छ । तर, समग्र प्रणालीका लागि यी सुधार पर्याप्त छैनन्, किनकि बहुसंख्यक बैंकमा निष्क्रिय कर्जा बढ्दो क्रममा छ ।

निष्क्रिय कर्जा बढेसँगै बैंकहरूको नाफामा अर्को ठूलो दबाब कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने प्रोभिजन हो । चालु आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले कुल २८ अर्ब ७५ करोड रुपैयाँ प्रोभिजन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढी हो । यसले देखाउँछ कि बैंकहरूले भविष्यको जोखिमलाई लिएर अझै ठूलो रकम जोगाएर राख्नुपर्ने अवस्था छ । लक्ष्मी सनराइज बैंकले मात्रै ४ अर्ब ४७ करोड रुपैयाँ प्रोभिजन छुट्याएको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा, एनआईसी एशिया, ग्लोबल आइएमई, सिटिजन्स, कृषि विकास बैंक र एनएमबि बैंकको प्रोभिजन रकम पनि उल्लेख्य रूपमा बढेको छ ।

प्रोभिजनको भार बढ्दै जानु भनेको बैंकहरूको कमाइ क्षमतामाथि निरन्तर दबाब पर्नु हो । अहिले देखिएको नाफा सुधार यही प्रोभिजन राइटब्याक वा अस्थायी कारण हट्नेबित्तिकै फेरि खुम्चिन सक्ने जोखिम बोकेको छ । अझै गम्भीर कुरा के छ भने अर्थतन्त्र सुस्त रहँदा नयाँ कर्जाको माग न्यून छ, पुराना कर्जा नै समस्याग्रस्त बन्दै गएका छन् र बैंकहरूको लगानी उत्पादनशील क्षेत्रमा जान सकेको छैन ।

समग्रमा, दोस्रो त्रैमासिक वित्तीय विवरणले वाणिज्य बैंकिङ क्षेत्रको अवस्था सुधारिएकोभन्दा पनि नाफा मात्रै बढेको स्पष्ट संकेत गर्छ । कर्जाको गुणस्तर कमजोर छ, निष्क्रिय कर्जा उच्च छ, प्रोभिजनको दबाब बढ्दो छ र अर्थतन्त्र चलायमान नहुँदासम्म नयाँ कर्जाबाट आय बढ्ने सम्भावना न्यून देखिन्छ ।

यस्तो अवस्थामा देखिएको नाफा वृद्धि दीर्घकालीन सुधारको संकेत होइन, बरु समस्याग्रस्त संरचनाभित्र देखिएको अस्थायी राहत मात्र हो । यदि आर्थिक गतिविधि तीव्र नबने, कर्जाको गुणस्तर नबढे र उत्पादनशील क्षेत्रमा लगानी नफर्किए, वाणिज्य बैंकहरूको अहिलेको नाफा भविष्यमा टिकाइराख्न झनै कठिन हुने संकेत बैंकहरूको वित्तीय विवरणहरूले देखाएको छ ।
०००

कुन बैंकले कति कमाए ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७५ करोड नाफा कमाएको छ । बैंकले त्रिशूली जलविद्युत आयोजनाको काउन्टर ग्यारेन्टीको रकम चीनमा मुद्दा जितेर ल्याएको थियो । शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिसकेको एक अर्ब रुपैयाँभन्दा बढी रकम आउँदा बैंकले कर्जा नोक्सानी व्यवस्थाबाट करिब ५ करोड रुपैयाँ रिभर्स गरेको छ । यसले गर्दा नबिल बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको हो ।

यस्तै, ग्लोबल आइएमई बैंकको नाफा ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कुमारी बैंकको नाफामा पनि सुखद् वृद्धि हुँदै २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस्तै, एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड पुग्दा प्राइम कमर्सियल बैंकको नाफा ९.२७ प्रतिशतले बढेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा १५०.२३ प्रतिशतले बढेर १ अर्ब ३२ करोड र नेपाल बैंकको नाफा १८३.०६ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

एनएमबि बैंकको नाफा भने १७.७१ प्रतिशतले घटेर १ अर्ब ६४ करोडमा झरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ४३.०५ प्रतिशतले घटेर १ अर्ब ६१ करोड कायम भएको छ ।
लक्ष्मी सनराइज बैंकले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा एनआईसी एशियाको नाफा १३.५१ प्रतिशतले घटेर १३ करोड १२ लाख रुपैयाँ मात्रै छ ।

सिटिजन्स बैंकको नाफा ४५.७७ प्रतिशतले घट्दा कृषि विकास बैंकको नाफामा २६.१२ प्रतिशतको गिरावट आएको छ । प्रभु बैंकको नाफा २४.०७ प्रतिशतले घटेको छ ।
हिमालयन बैंकको नाफा १४.८९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.२९ प्रतिशतले घटेको छ । अर्बभन्दा कम नाफा हुनेमा नोक्सानीमा रहेको लक्ष्मी सनराइजसँगै एनआईसी एशिया, सिटिजन्स र कृषि विकास बैंक मात्रै छन् ।

कुन-कुन बैंकले घटाए निष्क्रिय कर्जा ?
चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै निष्क्रिय कर्जा हिमालयन बैंकको छ । गत आवको दोस्रो त्रैमासमा ४.९८ प्रतिशत रहेको यो बैंकको निष्क्रिय कर्जा बढेर चालु आवको दोस्रो त्रैमासमा ७.९६ प्रतिशत पुगेको छ । त्यस्तै, प्रभु बैंकको निष्क्रिय कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुग्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत र एनआईसी एशिया बैंकको ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ ।

नेपाल एसबिआई बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । त्यस्तै, सिद्धार्थ बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत बिन्दुले घटेर ३.४५ प्रतिशतमा झरेको छ । नबिल बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशतमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.६० प्रतिशत बिन्दुले घटेर ४.३६ प्रतिशतमा झरेको छ । त्यस्तै, माछापुच्छ«े बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत हुँदा कृषि विकास बैंकको ०.२५ प्रतिशत बिन्दुले घटेर ४.६५ प्रतिशत र कुमारी बैंकको ०.०४ प्रतिशत बिन्दुले घटेर ६.९२ प्रतिशतमा झरेको छ ।

निष्क्रिय कर्जा बढेसँगै अधिकांश बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्थामा गरिएको प्रोभिजन रकम पनि बढेको छ । चालु आवको दोस्रो त्रैमासमा लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेण्ट मेगा र एनआईसी एशिया बैंकले धेरै रकम प्रोभिजन गरेका छन् । लक्ष्मी सनराइजले ४ अर्ब ४७ करोड रुपैयाँ प्रोभिजनका लागि छुट्याएको छ । गत आवको सोही अवधिमा १ अर्ब ९२ करोड रुपैयाँमात्रै प्रोभिजन गर्नुपरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ७४.५९ प्रतिशतले बढेर ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ३.११ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ८.९१ प्रतिशतले बढेर २ अर्ब ४० करोड पुग्दा सिटिजन्स बैंकको ३२.२९ प्रतिशतले बढेर १ अर्ब ८३ करोड रुपैयाँ छ ।

कृषि विकास बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ९०.०२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनएमबि बैंकको कर्जा नोक्सानी व्यवस्थाको रकम ३५० प्रतिशतले बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ र कुमारी बैंकको भने ५३.९४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँमा झरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४७ करोड, प्रभु बैंकले १ अर्ब ४५ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १५ करोड, सानिमा बैंकले १ अर्ब ७ करोड र हिमालयन बैंकले १ अर्ब ३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।

नबिल बैंकले ४ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । यस्तै, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेकोमा चालु आवको सोही अवधिमा ४.६४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्