काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध भ्रम सिर्जना गर्ने ठुलो प्रयास भइरहेको बताएका छन् । बिहीबार तनहुँ-१ मा मतदातासँग कुराकानी गर्दै वाग्लेले विपक्षीहरू आफुबीरुद्ध भ्रम छर्न लागेको बताए ।

उनले भने, ‘२४ घण्टाभित्र मेरो पेजमा गएर १३५ चोटी एडिट गरेछन् । हुँदाहुँदा एकचोटी मेरो फोटो हटाएर राजा ज्ञानेन्द्रको फोटो पनि हालेछन् । यो रमिता हो । यिनीहरू डराएका पनि हुन्, तर्सेका पनि हुन् ।’
उनले आफ्नो निष्कलङ्क छवि तनहुँका जनताले चिनिसकेको बताउँदै भने, ‘अलिकति सेतो, निष्कलङ्क छविमा हिजो छ्यापेपछि अलिकति टाँटा बस्छ नि । त्यस्तै आश गरेका छन् यिनले । तर, जनताले चिनिसकेपछि त्यसको केही अर्थ छैन ।’
अघिल्लो निर्वाचनमा पनि विभिन्न खाले हल्ला फैलाएको बताउँदै वाग्लेले त्यो बेला पनि जनताले आफूलाई पत्याएकाले त्यसले असर नगरेको टिप्पणी गरे ।
‘तनहुँमा मात्र होइन, देशैभरी घण्टी बज्नेवाला छ । नेपालको संसदीय इतिहासमा नदेखिएको उभार अहिले आउँदै छ,’ वाग्लेले भने ।











