काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्रका सबै विवाद समाधान भइसकेको भन्दै अब एक ढिक्का भएर आगामी निर्वाचनमा होमिएको जनाएको छ ।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले भने, ‘हामी निर्वाचनमा छौं। पार्टी भित्रको एकता नै सबैभन्दा ठूलो शक्ति हो। देशभरका आन्तरिक विवाद र समस्याहरू मिलिसकेको छ।’
प्रवक्ता चालिसेले कांग्रेसको सम्पूर्ण शक्ति अहिले निर्वाचन प्रचारप्रसारमा केन्द्रित रहेको बताए। उनले यस्ता अवसरमा अन्य पार्टीका नेता तथा कार्यकर्ता पनि कांग्रेसमा आबद्ध हुँदै गएको र यसले पार्टीको विजय सुनिश्चित गर्न योगदान पुर्याएको बताए।
त्यसैगरी, कांग्रेसले निर्वाचनको क्रममा अन्य पार्टीका नेता–कार्यकर्ताद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने रिपोर्ट निर्वाचन आयोगसम्म पुर्याएको छ। चालिसेले बताए अनुसार, खासगरी बालबालिकालाई राजनीतिमा प्रयोग गर्नु स्वीकार्य नभएको विषय हो।
‘बालबालिकाको अधिकार र मस्तिष्कलाई दुरुपयोग गरेर निर्वाचनको उद्देश्यका लागि प्रयोग गर्नु निर्वाचन आचारसंहिताभित्र पर्दैन,’ प्रवक्ता चालिसेले भने।











