
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा पार्टीको चुनावी प्रचारमा रहेको गाडीले ठक्करबाट बालिका मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । शुक्रबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै सो घटनाको वस्तुनिष्ठ छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।’












