
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सर्वोच्च अदालतका न्यायाधिशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर समेत गरे ।
उनले पञ्चायत कालमा पनि न्यायाधीशहरुले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेश गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताए ।
सांसद ढुंगानाले भने,‘यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ । न्यायाधीशहरु यति निरीह भइरहनु भयो । नेपालको न्यायाधीश किन यति निरीह भए मलाई थाहा छैन । पञ्चायतका, राजाको कालमा पनि आफूमाथि राजकाजको मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो । तर आज त्यस्तो अवस्था छैन ।’
सांसद ढुंगानाले सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको आरोप पनि लगाए।











