Logo
Logo

रुपन्देही-३ का प्रलोपा उम्मेदवार काराखेती पार्टीबाट निष्कासित


0
Shares

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ ।

The current image has no alternative text. The file name is: karakheti.jpg

पार्टी हितविपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको ठहर गर्दै काराखेतीलाई कारबाही गरिएको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लङ्घन गरेको पुष्टि भएपछि निष्कासन गरिएको उल्लेख छ ।

विज्ञप्तिअनुसार उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित रूपमा रकम माग गरेको, साथै आफ्नी श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएपछि पार्टीले कारबाहीको निर्णय गरेको हो ।

काराखेती निष्कासित भएपछि रुपन्देही-३ मा प्रलोपा को आधिकारिक उम्मेदवार नरहने भएकाले अब कसलाई समर्थन गर्ने भन्ने विषयमा पार्टीको बैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।

‘यस्ता क्रियाकलापले पार्टीको छविमा गम्भीर क्षति पुगेको निष्कर्षसहित केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयका आधारमा उनलाई हटाइएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, प्रलोपा रुपन्देही–३ की इन्चार्ज रविना भण्डारीले काराखेतीले पार्टीलाई जानकारी नै नदिई व्यक्तिगत स्वार्थमा अर्को दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थाहा पाएपछि कारबाही गरिएको बताइन् । पार्टीभित्र काराखेतीको पक्षमा कोही नरहेको र उनको व्यक्तिगत निर्णयले पार्टीलाई असर नपर्ने दाबी पनि उनले गरिन् ।

काराखेतीले भने आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको बताएका छन् । पार्टीले लगाएको रकम मागेको आरोप अस्वीकार गर्दै उनले ती आरोप गलत भएको दाबी गरेका छन् । यद्यपि, जिल्ला इन्चार्ज राईले काराखेतीले आफ्नो ह्वाट्सएप नम्बरबाट क्यूआर कोड पठाएर पटक-पटक रकम माग गरेको दाबी गर्दै त्यससम्बन्धी विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्