Logo
Logo

चैत पहिलो साताभित्र संसद् भवन निर्माण सम्पन्न गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन


378
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो साताभित्र संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

The current image has no alternative text. The file name is: rastriya-sabha.jpg

शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा संलग्न पक्षहरूसँग छलफल गर्दै अध्यक्ष दाहालले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

नयाँ संसद् भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्ने लक्ष्यअनुसार कुनै पनि अवरोध नहुने गरी निर्माण कार्य टुंग्याउन अध्यक्ष दाहालले जोड दिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

छलफलका क्रममा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले संसद् भवनको करिब ९२ प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी काम पूरा गरी चैतको पहिलो हप्ताभित्र निर्माण कार्य सम्पन्न गर्न सकिने जानकारी अध्यक्ष दाहाललाई गराएका थिए ।

‘अब बाँकी रहेका कामहरू तीव्र गतिमा अघि बढाई कुनै कारणले पनि अवरुद्ध नहुने गरी समयमै निर्माण सम्पन्न गर्न सम्माननीय अध्यक्षज्यूले स्पष्ट निर्देशन दिनुभएको छ,’ प्रवक्ता गिरीले भने ।

अध्यक्ष दाहालले निर्माण कार्यको नियमित अनुगमन गर्न संघीय संसद् सचिवालयलाई सचेत गराउँदै हप्तैपिच्छे प्रगति विवरण उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

त्यसका साथै प्राविधिक पक्षहरूको स्थलगत अवलोकन, समन्वय तथा सचिवालयका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा समेत छलफल भएको प्रवक्ता गिरीले जानकारी दिए ।

फागुन २१ गतेको निर्वाचनपछि सिंहदरबारस्थित नयाँ संसद् भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक सञ्चालन गर्ने तयारी संघीय संसद् सचिवालयको छ । सोही लक्ष्यअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षको निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्न अध्यक्ष दाहालले सहरी विकास मन्त्रालय तथा निर्माण पक्षलाई सचेत गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्