Logo
Logo

निर्वाचनको ७२ घण्टाअगावै सीमा नाका बन्द गरिने


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गर्ने भएको छ । शुक्रबार (माघ २३) मोरङको विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डीआईजी स्तरीय समन्वय बैठकमा सो निर्णय भएको हो ।

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।

साथै, सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको हो । त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी/आप्रवासीहरूको गतिविधिउपर निगरानी राख्ने, विभिन्न तह बनाई चेक प्वाइन्ट खडा गर्ने, आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयहमा समेत छलफल भएको थियो ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरेका थिए । भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्