काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर जबराले आगामी निर्वाचनमा काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको घोषणा गर्दै उनकै नाममा भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै राणाले यो चुनाव जितेन्द्र श्रेष्ठ वा उदय शमशेरको मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउने र देशमा परिवर्तन ल्याउने चुनाव भएको बताए । काँग्रेसले गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर अघि बढेको उल्लेख गर्दै उनले अबका सरकार गगनका सरकार भनेर भोट माग्न आग्रह गरे ।
सहमहामन्त्री राणाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिए । उनले फेसबुक र ट्विटरको भित्तामा मात्र सिमित नभई सार्वजनिक स्थल (टुँडिखेल) मा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा बहस गर्न अन्य नेताहरूलाई चुनौती दिए ।
राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) प्रति लक्षित गर्दै उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी गरे । रास्वपा दुई पटक सरकारमा गइसकेको र उनीहरूका सभापति दुई पटक गृहमन्त्री बनिसकेको बताए । उनीहरू कसरी नयाँ भए रु उनको प्रश्न छ । उनले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका कानुनी मुद्दाहरूको उल्लेख गर्दै विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने ठोकुवा गरे ।
उनले भने, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भन्नुभयो, तर अहिलेका युवा उम्मेदवारहरूले यसलाई किन स्वीकार गरिरहेका छैनन् रु फेसबुकबाट मात्र देश चल्दैन, जनताको नजिक आएर आफ्ना नीतिहरू भन्नुपर्छ ।’
‘जेन–जी’ आन्दोलनपछि नेपाली काँग्रेसले आफूलाई बदलेको दाबी गर्दै राणाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको चर्चा गरे । उनले काँग्रेस अब सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ र नवीन पार्टी बनेको बताए ।











