Logo
Logo

हिजोका ‘कमान्डर’ आजका ‘प्रतिस्पर्धी’, कसले मार्ला बाजी ?


693
Shares

काठमाडौं । कुनै समयका अभिन्न राजनीतिक सहयात्री जनार्दन शर्मा र गोपाल शर्माबीचको दुई दशक लामो सहकार्य अहिले प्रतिस्पर्धामा बदलिएको छ ।

जनयुद्धदेखि संसदीय निर्वाचनका अनेकौँ घुम्तीहरूमा एकअर्काका परिपूरक बनेका यी दुई नेता फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने आमनेसामने हुँदैछन् ।

लामो समय जनमुक्ति सेनाको डेपुटी कमान्डरका रूपमा युद्धको मोर्चामा व्यस्त रहेका जनार्दनलाई २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा गृहजिल्ला रुकुम फर्काउने मुख्य श्रेय गोपाल शर्मालाई जान्छ ।

तत्कालीन जिल्ला सचिव रहेका गोपालले नै जनार्दनलाई रुकुमबाट उम्मेदवार बनाउन जोड गरेका थिए, जसको परिणामस्वरुप जनार्दनले सानदार जित हासिल गरे ।

त्यसयता २०७९ सम्मका हरेक निर्वाचनमा जनार्दनको चुनावी व्यवस्थापन र सांगठनिक पकड मजबुत बनाउन गोपालले पर्दा पछाडि बसेर निर्णायक भूमिका खेल्दै आएका थिए ।

जनार्दन केन्द्रको राजनीति र सत्ताको बागडोर सम्हाल्न व्यस्त रहँदा रुकुमको गाउँ–गाउँ पुगेर संगठन जोगाउने र कार्यकर्ता रिझाउने काममा गोपाल खटिएका थिए । उनीहरूबीचको सम्बन्ध यति प्रगाढ थियो कि धेरैले उनीहरूलाई एकाघरका दाजुभाइ नै ठान्थे ।

जनार्दन गृहमन्त्री हुँदा गोपालले नै उनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका थिए । यसरी एकअर्काको राजनीतिक उचाइका लागि सारथी बनेका यी दुई शर्माबीचको सम्बन्धमा २०८२ कात्तिक २८ गते गम्भीर मोड आयो ।

जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) परित्याग गरी आफ्नै नेतृत्वमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) गठन गरेपछि उनीहरूको राजनीतिक बाटो अलग भएको हो ।

हरेक संकटमा जनार्दनलाई साथ दिँदै आएका गोपालले यसपटक भने नयाँ पार्टीमा जानुको सट्टा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै धारलाई रोजेका छन् । अहिले उनै गोपाल शर्मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । हिजो जनार्दनलाई जिताउन रणनीति बुन्ने ‘चुनावी कमान्डर’ गोपाल आज उनै जनार्दनलाई पराजित गर्ने योजनामा व्यस्त छन् ।

यद्यपि, जनार्दनलाई यसपटक नेकपा एमालेको समर्थन प्राप्त छ, जसका कारण उनी फेरि पनि आफ्नो विरासत जोगाउनेमा आशावादी देखिन्छन् । तर, जनार्दनका हरेक चुनावी दाउपेच, सबलता र कमजोरीलाई नजिकबाट चिनेका गोपालको उम्मेदवारीले जनार्दनका लागि राजनीतिक जीवनकै सबैभन्दा कठिन चुनौती खडा गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्