Logo
Logo

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आयोजन हुँदै


189
Shares

कैलाली । ‘साहित्यमार्फत सामाजिक सद्भाव’ को उद्धेश्यले आफ्नो स्थापनाकालदेखि नै टीकापुरमा साहित्य महोत्सवको आयोजना गरिरहेको टीकापुर साहित्य समाजले २०८२ चैत १३ ९ १५ गतेसम्म त्रिदिवसीय  ‘टीकापुर साहित्य महोत्सव-२०८२, तेस्रो संस्करण, थारु साहित्य तथा सांस्कृतिक उत्सव’ को आयोजना गर्ने  भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै सहित्यक समाजले सो बारे जनकारी गराएको हो । महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुने छन् । महोत्सवमा जम्मा २१ बहस सत्रहरू रहनेछन् । हरेक बहस सत्र १-१ घण्टाको हुने छ । नेपाली साहित्यका गम्भीर अध्येता, समालोचक, भाषाविद्, नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता प्रा। डा। माधवप्रसाद पोखरेलले ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचन दिने छन् । 

‘टीकापुर साहित्य महोत्सव-२०८२, थारु साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करण भएकोले महोत्सव साहित्य तथा संस्कृतिको सङ्गम हुने छ । नेपालका विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ्देउखुरीमा थारु समुदायको बाहुल्यता रहेको छ । ‘थारु भाषा तथा संस्कृति नेपालीको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्धेश्यले यो महोत्सवको आयोजन गर्न लागेको’ टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए । उनले भने,‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रूपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्त्वपूर्ण माध्यम हुन् । 

टीकापुर साहित्य महोत्सव९ २०८२ को थारु साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारु लोक साहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयहरूमाथि पनि सम्बन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल, अन्तर्क्रिया र बहस हुने छ । 

 
महोत्सवलाई चार शृङ्खलाहरूमा बिभाजन गरिएको छ । महोत्सवको  पहिलो शृङ्खला अन्तर्गत २०८२ चैत ९, १० र ११ गते टीकापुर नगरपालिका, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानहरू, विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरूमा सामाजिक सन्देशमूलक सडक नाटक प्रदर्शन गरिने छ । यो सडक नाटकका कलाकार स्थानीय विद्यार्थी तथा अन्य युवाहरू हुनेछन् भने नाटकको लेखन, निर्देशन नेपालमा सडक नाटकको सूत्रपात गर्ने विख्यात नाटककार अशेष मल्लले गर्ने छन् । यसका साथै ती पालिकाहरूमा अवस्थित विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरूमा अध्ययनरत लेखनमा अभिरूचि भएका प्रतिभाशाली विद्यार्थीहरूका लागि एक दिने लेखन कार्यशाला गोष्ठीको आयोजन गरिने छ । लेखन कार्यशाला गोष्ठीमा नेपालका स्थापित लेखकहरू प्रशिक्षकका रूपमा रहने छन् । पहिलो शृङ्खलाको महत्त्वपूर्ण कार्यक्रमका रूपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव- २०८२ को आयोजन गरिने छ । कविता महोत्सवमा प्रथम हुने कवितालाई रू. १५००० द्वितीयलाई रू. १०००० र तृतीयलाई रू. ५०००.नगद पुरस्कारराशि र प्रमाणपत्र अर्पण गरिने छ भने सान्त्वनास्वरूप दुईजनालाई प्रमाणपत्र प्रदान गरिने छ । कविता महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको सङ्ग्रह पनि प्रकाशन गरिने छ ।

टीकापुर साहित्य महोत्सवको दोस्रो शृङ्खला अन्तर्गत अतिथि आगमनको दिन सहभागीहरूलाई महोत्सवको नारा ‘उडेर, गुडेर, तैरिएर टीकापुर’ लाई सार्थकता दिन र टीकापुर भेकको पर्यटन प्रवर्धन गर्न कर्णाली नदीमा जल विहार गराइने छ । त्यहीँ साँझ थारु संस्कृतिको प्रवर्द्धन हेतु ‘थारु सांस्कृतिक साँझ’ को आयोजन गरिने छ ।

टीकापुर साहित्य महोत्सवको तेस्रो शृङ्खला अन्तर्गत पहिलोदिन महोत्सव समुद्घाटन, विभिन्न जिल्लाका थारु सांस्कृतिक झाँकी प्रदर्शन, टीकापुर साहित्य महोत्सव स्मारिका विमोचन, विद्वत प्रवचन, सुदूरपश्चिम कविता महोत्सव पुरस्कार अर्पण, बहस सत्र, काव्य श्रवण र साँझ देशका चर्चित देउडा कलाकारहरूबाट सुदूरपश्चिमका देउडा प्रस्तुत गरिने छ । दोस्रोदिन बहस सत्रका साथै गजलश्रवण तथा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने छ । महोत्सवको पहिलो र दोस्रो दिनका बहस सत्रहरूमा देशका ख्यातिप्राप्त भाषाविद्, साहित्यकार, कलाकार, पत्रकार, चिकित्सक, शिक्षाविद्, समाजसेवी, राजनीतिज्ञ तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने छ ।

टीकापुर साहित्य महोत्सवको चौथो शृङ्खला अन्तर्गत तेस्रोदिन थारु साहित्य तथा सांस्कृतिक उत्सवको विशेष दिन हुने छ । यस विशेष उत्सवका सातवटा सत्रहरूमा थारु समाज, थारु लोकसाहित्य तथा लोकसंस्कृतिका विविध आयामहरूमाथि बौद्धिक विमर्श तथा बहस हुने छ । महोत्सवको तेस्रोदिनका बहस सत्रहरूमा नेपालको सुदूरपश्चिमको कन्चनपुरदेखि पूर्वको झापा जिल्लासम्मका थारु लेखक, विज्ञ तथा अभियन्ताहरूको प्रतिनिधित्व हुने छ । दिउँसो थारु खाद्य परिकारहरूको प्रदर्शनी हुने छ । महोत्सवको अन्तिम दिन साँझ थारु रामलीला नाच (गीति नाटक) प्रदर्शन गरिने छ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनी हुने छ ।

टीकापुर साहित्य समाजले महोत्सवको तेस्रो संस्करणको आयोजनमा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानसंग सहकार्य गरेको छ । टीकापुर साहित्य महोत्सव-२०८२, तेस्रो संस्करणको मुख्य प्रवर्धक सुदूरपश्चिमप्रदेश सरकार रहेको छ भने टीकापुर नगरपालिका  र जानकी गाउँपालिका यस महोत्सवका प्रवर्धक रहेका छन् । यस संस्करणमा नेपाल पर्यटन बोर्ड सहप्रवर्धक रहने छ । यस महोत्सवलाई हालसम्म कृषि विकास बैङ्क, लक्ष्मीसनराइज बैङ्क,  एभरेष्ट बैङ्कले प्रायोजन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्