Logo
Logo

कार्यकाल सकिएका राष्ट्रिय सभा सांसदहरुले भोलि बिदाइ सम्बोधन गर्ने


378
Shares

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो कार्यकाल पूरा गरी बिदा हुनुअघि सदनमा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ जना सांसदहरूले सोमबार बस्ने संसद्मा आफ्ना अनुभव र अनुभूतिहरू राख्ने भएका हुन् ।

माघ ४ गतेदेखि सुरु भएको राष्ट्रिय सभाको यो अधिवेशन प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएका कारण अन्त्य गर्ने तयारी भइरहेको छ । संसद् सचिवालयका अनुसार सोमबारको बैठकमा बिदा हुन लागेका सांसदहरूको अनुभव साट्ने कार्यसूची तय गरिएको छ ।

यदि सोमबार सबैको पालो नआएमा माघ २८ गतेको बैठकमा पनि सोही क्रमलाई निरन्तरता दिइनेछ भने अर्को बैठक फागुन १ गतेका लागि तय गरिएको छ । सरकारले थप बैठक नराख्ने गरी व्यवस्थापन गर्न सन्देश पठाएकाले सोही अनुसार तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

यसपटक बिदा हुने १९ सदस्यमध्ये १८ जना निर्वाचित हुन् भने एक जना राष्ट्रपतिबाट मनोनीत हुन् । मनोनीत सांसद वामदेव गौतमले यसअघि नै राजीनामा दिइसकेका छन् । त्यस्तै, नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिइसकेकाले अब बाँकी १६ जना सांसदले मात्र सदनमा आफ्नो विदाई मन्तव्य राख्नेछन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभाका सदस्यहरू पनि विभिन्न राजनीतिक दलमा आबद्ध भएकाले उनीहरू चुनावी प्रचारप्रसारमा खटिनुपर्ने अवस्था छ । त्यसैले सांसदहरू स्वयंले पनि अधिवेशन लम्ब्याउन नहुने धारणा राख्दै आएका छन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचनको समयमा माथिल्लो सदन चलाइराख्नु व्यवहारिक नहुने र तत्कालै सम्पन्न गरिहाल्नुपर्ने ठूला कार्यभार पनि नभएकाले सरकारसँगको अनौपचारिक छलफलपछि अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन सकिएपछि दुवै सदनको अधिवेशन एकैसाथ सुरु हुनेछ । सरकारले आगामी चैत १ गतेदेखि नयाँ संसद्को अधिवेशन आह्वान गर्ने योजना बनाएको छ । र सोही अनुसार व्यवस्थापन मिलाउन सचिवालयलाई जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्