काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले देशमा राजा नभइ नहुने र हिन्दू राष्ट्रको चाहना युवामाझ पनि व्यापक रहेको दाबी गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका थापाले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मतदानका क्रममा मतदाताहरूको रुचि र मागबारे जानकारी दिँदै भने, “जहाँ हामी भोट माग्न गएका छौं, अधिकांशले हिन्दू राष्ट्र चाहन्छन् भन्छन्। अधिकांसले अब राजा नभई हुँदैन भन्छन् । केवल बुढापाकाले मात्र होइन, आजका युवा पनि राजसंस्था र हिन्दू राष्ट्रको चाहनामा सक्रिय छन् । अब हामीले घरघरमा पुगेर काम गर्नैपर्छ।”
साथै, थापाले भ्रष्ट नेताहरू र दलप्रति चेतावनी दिँदै आम मतदातालाई सचेत रहन अपिल गरे । “हामी दिनरात भ्रष्टाचारको विरोध गर्छौं, २४ घण्टै गुनासो गर्छौं । तर चुनावको बेला यस्ता भ्रष्ट दललाई नै भोट हाल्ने चलन छ । यस पटक हामीले कमसेकम देशमा भ्रष्टाचारको महारोग फैलाउने पार्टीलाई मत नहाल्ने संकल्प गर्नु पर्छ,” उनले भने ।
थापाले मतदातामा सकारात्मक प्रतिक्रियाको उल्लेख गर्दै भने, “हामीले जनतालाई यही भनिराखेका छौं, र जनताबाट पनि राम्रो रिस्पोन्स पाइरहेका छौं ।”











