Logo
Logo

नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई एमाले र रास्वपाको चुनौती


882
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)- १ पनि रहेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका नेता विनोद चौधरी यस पटक पनि उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिकाका सबै वडा, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका सबै वडा र सरावल गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ समेटिएको छ ।

निर्वाचन आयोगका अनुसार  नवलपरासी ९बर्दघाट९सुस्ता पश्चिम०९ १ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २३ हजार ८० जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १४८ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसबाट विनोद चौधरी विजयी भएका थिए । उनले २९ हजार ५१९ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए । त्यस्तै तेस्रो भएका रास्वपाका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका थिए भने जनमतका गुलाव प्रसाद चौधरीले ५ हजार ९५२ र राप्रपाका भोज राज ढकालले ४ हजार ८२५ मत प्राप्त गरेका थिए ।

त्यस्तै २०७९ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले सबैभन्दा बढी २३ हजार ५१५ मत प्राप्त गरेको थियो भने एमालेले १७ हजार १७२ मत प्राप्त गरेको थियो । त्यसैगरी रास्वपाले १० हजार ७१८, जनमतले ७ हजार ४१४ र राप्रपाले ६ हजार ४७७ मत प्राप्त गरेको थियो ।

उम्मेदवार-२०८२    

यस निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरेर २६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यस्तै नेपाली काँग्रेसबाट फेरी एक पटक उम्मेदवार बनेका छन् भने एमालेबाट राम प्रसाद पाण्डेय उम्मेदवार बनेका छन् । त्यसैगरी रास्वपाले काँग्रेसका पूर्व नेता विक्रम खनाललाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाबाट सिन्धु जलेसा बुढाथोकी र राप्रपबाट नवनित कुमार मिश्र उम्मेदवार बनेका छन् । त्यस्तै हृदयेश त्रिपाठी यस पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन् भने जनमतले यस पटक गणेश बहादुर चौधरीलाई उम्मेदवार बनाएको छ ।

एमाले र रास्वपाको चुनौती 

यस पटक सबै दल अलग अलग चुनाव लडेकाले पनि अघिल्लो निर्वाचनलाई आधार बनाएर आकलन गर्न सकिदैन । काँग्रेसका विक्रम खनाल अघिल्लो चुनावमा विनोद चौधरीलाई सहयोग नगरेको कारण कारबाहीमा परेका थिए । तर काँग्रेसले कारबाही फिर्ता लिए पनि उनी रास्वपाबाट उम्मेदवार बनेका छन् । त्यस्तै गत निर्वाचनमा एमालेको समर्थनमा उम्मेदवार हृदयेश त्रिपाठी यस पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन् । त्यस्तै यस पटक एमालेले आफ्नै उम्मेदवार उठाएको छ । यसरी यस क्षेत्रमा प्रतिस्पर्धाको केन्द्रमा काँग्रेसका विनोद चौधरी छन् भने उनलाई चारै तिरबाट चुनौती दिन खोजिएको छ । गत निर्वाचनको समानुपातिक मतलाई आधार मान्दा यस क्षेत्रमा काँग्रेस स्पष्ट रूपमा अगाडी देखिन्छ ।

तर यस पटक रास्वपाको देशभर देखिएको लहर र काँग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका विक्रम खनालले कति फाइदा उठाउँछन् भन्ने पनि रहेको छ । गत निर्वाचनमा पनि उनले चौधरीलाई असहयोग नै गरेकाले यस पटक पनि उनले चौधरीलाई त्यति ठुलो असर पुर्‍याउन नसक्ने विश्लेषण स्थानीयको रहेको पाइन्छ । त्यस्तै यस क्षेत्रमा कम जनाधार भएको जसपा नेपालबाट उम्मेदवार बनेका हृदयेश त्रिपाठी भने यस पटक प्रतिष्पर्धामा आउन नसक्ने नै देखिन्छ । यसरी हेर्दा यस क्षेत्रमा यस पटक काँग्रेस, एमाले र रास्वपाको प्रतिस्पर्धा देखिन्छ र यसमा विनोद चौधरी बलियो उम्मेदवारको रूपमा देखिएका छन् 

प्रतिक्रिया दिनुहोस्