
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदा भव्य स्वागत गर्ने भएको छ ।
पारिवारिक भेटघाटका लागि झापा पुगेका ज्ञानेन्द्र फागुन १ गते काठमाडौं फर्किँदैछन् । उनी काठमाडौं आउन लागेकाले विमानस्थलमा भव्य स्वागत तयारी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘हामी फागुन १ गते राजालाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गर्नेछौं । निषेधको राजनीतिको अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरु एकजुट बनौं,’ उनले भनेका छन् ।
त्यस्तै राप्रपाका वरिष्ठ नेता धवल शमशेर राणाले पनि पनि पूर्वराजाको काठमाडौंमा भव्य स्वागत गर्न अपिल गरेका छन् । उनले भनेका छन्, ‘फागुन १ गते श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेव सरकार झापाबाट हुने फिर्ति सवारीलाई सभ्य र भव्य बनाउन सम्पूर्ण राजभक्त, देशभक्तहरु एक भएर सरकारको स्वागतार्थ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थाल पुगौँ । सरकारलाई तेस्रो पटक राज्यारोहण गराउन एकजुट हौँ ।’
राप्रपाका नेता रवीन्द्र मिश्रले पनि राप्रपा तथा राजसंस्थावादीहरूलाई आग्रह गर्दै फागुन १ गते काठमाडौँ विमानस्थलमा पूर्वराजा शाहलाई स्वागतका लागि अपिल गरेका छन् ।
उनले लेखेका छन्, ‘राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य–भव्य–भव्य स्वागत गरौँ, देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन् । यो एकदम सकारात्मक संकेत हो । राजस्थावादी आमसर्वसाधारण त उपस्थित हुने नै छन् । तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौँ उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो।’











