Logo
Logo

सांसदमा कसैलाई नदोहोर्याउने जुम्लाले यो पटक कसलाई रोज्ला ?


1.1k
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै जुम्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरू जुम्ला प्रवेश गरेसँगै स्थानीयहरू पनि चुनावी माहौलमा होमिएका छन् ।

नयाँदेखि पुराना दल र राजनीतिमा खारिएकादेखि भर्खरै उदाएका युवाहरूबीच प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रमा सबैको चासो बढेको छ । जुम्लाको एकमात्र निर्वाचन क्षेत्रमा यसपटक एक स्वतन्त्रसहित नौ जना उम्मेदवार चुनावी मैदानमा छन्।

जसमा नेपाल कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही, नेपाली कांग्रेसका दीपबहादुर शाही, नेकपा (एमाले) का शान्तिलाल महत र राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायत उम्मेदवार छन् ।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टीका विषबहादुर रावत, नेपाल जनता पार्टीका अनिल विक्रम शाही, नेकपा (माओवादी केन्द्र) का विर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल पनि प्रतिस्पर्धामा छन्।

उम्मेदवारहरू एजेन्डासहित घरदैलोमा पुगेपछि गाउँबस्तीदेखि सदरमुकाम खलङ्गा बजारका चिया पसलमा चुनावी बहस तीव्र भएको छ । जिल्लामा कुल ७१ हजार ७३९ मतदाता छन्, जसमा महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ रहेका छन् । निर्वाचनका लागि ८५ मतदान स्थल र ११० मतदान केन्द्र कायम गरिएको निर्वाचनको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

जुम्लाको चुनावी इतिहास हेर्दा मतदाताले हरेक निर्वाचनमा फरक दल र उम्मेदवार रोज्ने गरेको पाइन्छ । २०६४ मा माओवादीका नरेश भण्डारी, २०७० मा कांग्रेसका ललितजंग शाही र २०७४ मा वाम गठबन्धनबाट माओवादीका गजेन्द्र महत विजयी भएका थिए । २०७९ को आम निर्वाचनमा भने राप्रपाका ज्ञानेन्द्र बहादुर शाही २२ हजार ८१९ मत ल्याएर विजयी भएका थिए ।

दलीय शक्तिको हिसाबले २०७९ को समानुपातिक मतमा एमाले १०, ५४८ मतका साथ अगाडि थियो भने कांग्रेसले १०,४७३, माओवादीले ८,०६० र राप्रपाले ५,९७६ मत प्राप्त गरेका थिए । स्थानीय तह निर्वाचनमा भने ८ मध्ये ६ तहमा कांग्रेस र २ तहमा माओवादीले जित हात पारेका थिए ।

अहिले सबै दलहरू संगठन सुदृढीकरण र प्रचारमा आक्रामक देखिएका छन् । एमालेले वडा र टोलस्तरसम्म बैठक र निर्वाचन परिचालन कमिटीमार्फत सक्रियता बढाएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ ।

पार्टीको तयारीबारे नेकपाका केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक गोमा गौतमले भने, ‘हामीले निर्वाचन लक्षित गर्दै १ हजार ९९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेका छौँ। मतदाता भेटघाट, आन्तरिक भेला र प्रशिक्षण कार्यक्रमलाई हामीले तीव्र रूपमा अघि बढाएका छौँ।’

ठूला दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले घरदैलो र समन्वय बैठकहरूलाई तीव्रता दिएपछि जुम्लाको राजनीति अहिले निकै गर्माएको छ ।

प्रतिक्रिया दिनुहोस्