काठमाडौं । आइतबार भारतको मुम्बईको वानखडे रङ्गशाला केवल एउटा क्रिकेट मैदान थिएन । नेपालका लागि इतिहास रच्ने अवसरको रूपमा रहेको थियो । दुई पटकको विश्वविजेत टीम, क्रिकेटको जन्मदाता देश इंग्ल्यान्ड जहाँ नेपालले धेरै राम्रो प्रदर्शन गरे पनि जीत हासिल गर्न सकेन ।

टी-२० विश्वकप २०२६ को पहिलो खेलमा रोमान्चक प्रदर्शन गरेको नेपालका बाँकी खेल पनि चाँसोका रूपमा हेरिएको छ । पहिलो खेलमै नेपाललाई दुई अङ्क जोड्ने अवसर थियो । तर, त्यो अवसर गुमाउन पुग्यो ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य कुनै पनि हिसाबले सजिलो थिएन । विश्व क्रिकेटमा शक्तिशाली मानिने टोली विरुद्ध यस्तो लक्ष्य पछ्याउनु आफैँमा चुनौती हो । तर नेपाली टोली त्यो चुनौतीबाट डराएन । कुशल भुर्तेल र आसिफ शेखले सुरुआतमै आक्रमण गरेर संकेत दिएका थिए । कुशलको ब्याटबाट निस्केका चौका–छक्का केवल रन मात्र थिएनन्, ती आत्मविश्वासका आवाज थिए ।
त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी मैदानमा आए । उनीहरूको साझेदारी नेपाली इनिङ्सलाई अगाडी बढाएका थिए । ८२ रनको त्यो साझेदारीले नेपाललाई बलीयो स्थीतिमा पुर्र्याको थियो ।
दीपेन्द्रको ब्याटबाट निस्केका सटहरूमा अनुभव झल्किन्थ्यो । २ हजार टी-२० रन पूरा गर्नु केवल व्यक्तिगत उपलब्धि थिएन । त्यो नेपाली क्रिकेटको परिपक्वताको प्रतीक थियो ।
खेल जब अन्तिम ओभरतर्फ मोडिन थाल्यो, तब मैदानमा नयाँ नायक उदाए–लोकेश बम । उनका छक्काहरूले इंग्ल्यान्डका बलरहरूलाई दबाबमा ल्यायो । १८औँ ओभरमा उनका तीन छक्का खेलको गति नै बदल्ने क्षण बने । १९औँ ओभरमा आएका वाइड बलहरू इंग्ल्यान्डलाई प्रेसरमा ल्याएको थियो ।
अन्तिम ओभरमा जितका लागि १० रन चाहिन्थ्यो । तर अन्तिम दुई बलमा भाग्यले नेपाललाई साथ दिएन । लोकेशले प्रयास गरे, शक्ति लगाए, आत्मबल खर्चिए । तर बल सीमापार जान सकेन । अन्तिम बलसँगै नेपाली सपनाको एउटा अध्याय आँसुसँग मिसियो । नेपाल ४ रनले पराजित भयो ।
इंग्ल्यान्डको जित केवल रनको आधारमा मात्र थिएन । त्यो अनुभवको जित थियो । आत्मविश्वासको जित थियो । ज्याकोब बेथेल र ह्यारी ब्रुकको अर्धशतकले उनीहरूको इनिङ्स टिमलाई बलियो बनाएको थियो ।
‘सुपर आठ’को समीकरण कस्तो हुन सक्छ ?
‘सुपर आठ’मा पुग्नका लागि अब नेपालले बाँकी रहेका सबै खेल जित्नु पर्ने दबाब छ । गुरुप ‘सी’मा अहिलेसम्म भएका खेलबाट इंग्ल्यान्ड र वेस्टइन्डिजले २-२ अङ्क जोडेका छन् । नेपाल र स्कटल्यान्डले एक-एक खेल हारेका छन् । यसै समुहमा रहेको इटालीले भने अहिलेसम्म कुनै खेल खेलेको छैन ।
अहिलेसम्मको प्रदर्शनलाई हेर्दा इंग्ल्यान्ड र वेस्टइन्डिज ‘सुपर आठ’को दाबेदारका रूपमा देखिएका छन् । यदी वेस्टइन्डिजल इंग्ल्यान्ड सँग मात्रै हार्यो भने सोझै ‘सुपर आठ’मा पुग्ने देखिन्छ । जसरी नेपाल पहिलेको खेलमा खेल्यो त्यसरी नै वेस्टइन्डिज विरुद्ध खेल्यो भने जित्न सकिँदैन भन्ने अवस्था छैन । यस्तो अवस्थामा ‘सुपर आठ’का लागि नेपाल, इंग्ल्यान्ड र वेस्टइन्डिजको दौड रहने छ । पहिले खेलेको प्रदर्शनलाई हेर्ने हो भने अब नेपाल दुई खेलमा सहजै जित निकाल्ने देखिन्छ । जसमा इटाली र स्कटल्यान्ड विरुद्ध नेपालले राम्रो रनरेटका आधार जित निकाल्यो भने नेपालको बाँकी आस रहनेछ ।
दुई खेल मात्रै जित्दा नेपालले अरु टीमको प्रदर्शनमा भर पर्नुपर्ने देखिन्छ । सोझै ‘सुपर आठ’मा पुग्नको लागि नेपालले अबका सबै खेल जित्नुपर्ने देखिन्छ । अहिले नेपाल अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ । वेस्टइन्डिजलाई इटाली र इंग्ल्यान्डले हराएको खण्डमा नेपालले रनरेटका आधारमा ‘सुपर आठ’मा जान सक्छ । यदि यसो भएन र नेपाल र इंग्ल्यान्डले वेस्टइनिडजलाई हरायो भने पनि सम्भावना रहन्छ ।











