
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको विकासका लागि केही नयाँ जोखिमहरू उठाउनुपर्ने र काम गर्ने शैलीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले जादु वा चमत्कारको आशामा बस्दा थप पाँच वर्ष खेर जाने भन्दै आगामी पाँच वर्षलाई खेर जान नदिने गरी काम गर्नुपर्ने बताएका हुन् ।
उनले पाँच वर्षमा पूर्वाधारको क्षेत्रमा नेपालले एउटा रूपान्तरणकारी परिवर्तन ग¥यो भन्ने कुरा स्थापित गर्न सकिने कुरामा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन्।
सभापति थापाले सडक र सिँचाइ जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजनाहरू समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता रहेको स्पष्ट पारेका छन् । ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ, जसले विकासको लागत मात्र बढाएको छैन, अर्थतन्त्रको उत्पादकत्वमा पनि ठूलो असर पारेको छ,’ उनले भने । साथै थापाले ढिलासुस्तीका कारण देशले चुकाउनुपर्ने ‘अपर्चुनिटी कस्ट’ अत्यन्तै उच्च रहेको बताएका छन् ।
यो लक्ष्य प्राप्तिका लागि कानुनमा सुधार, संस्थागत क्षमता अभिवृद्धि र सार्वजनिक संस्थाहरूको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । थापाले अगाडि भनेका छन्, ‘हामीले केही नयाँ वित्तीय मोडेलहरू अभ्यास गर्नुपर्छ, केही नयाँ जोखिमहरू उठाउनुपर्छ र निजी क्षेत्रलाई पनि पूर्ण विश्वासमा लिएर सँगै अगाडि बढ्नुपर्छ। साथै, हाम्रो अनुगमन गर्ने पुराना तरिकाहरूलाई पनि बदल्नुपर्ने आवश्यकता छ ।’











