काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसंघीय शान्तिसेना मार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको बताए ।
उनले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँदै एक महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बताए ।
उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएकोमा खुसी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
उनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुंगोमा पु¥याउन उचित हुने आफूलाई लागेको बताए ।
राष्ट्रपतिले गोर्खा विग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकामा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद दिँदै प्रतिवेदनउपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए।
सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सँधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे ।
ब्रिटिश गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईँहरू नेपालका छोरा, छोरी हो भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति मायाँ र सम्मान प्रकट गर्नेगरेको उनले उल्लेख गरे ।











