Logo
Logo

महाशिवरात्रि लक्षित पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु


189
Shares

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ ।

The current image has no alternative text. The file name is: pashupati.jpg

भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी काम अघि बढाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाशिवरात्रिको तयारीका लागि समिति पूर्ण रूपमा सक्रिय छ । साधु–सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पु¥याउने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायत क्षेत्रमा काम भइरहेको छ ।”

महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको र सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिइएको प्रवक्ता जोशीले बताए ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिले महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ ।

महाशिवरात्रि पर्वलाई लक्षित गर्दै अहिले पशुपतिनाथमा साधु–सन्तहरूको आगमन हुने क्रम तीव्र रूपमा सुरु भएको छ । देशका विभिन्न भू–भागका साथै छिमेकी मुलुक भारतबाट साधु–सन्तहरू पशुपतिनाथ क्षेत्रमा आउन थालेका छन् । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा यहाँ साधु–सन्तहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तहरू पशुपति क्षेत्रमा आइपुगी आ–आफ्ना धुनी स्थापना गर्न थालेका छन् । साधु–सन्तहरूले पशुपति क्षेत्रका विभिन्न स्थानमा ध्यान, तपस्या र साधनाका लागि धुनी तयार गरिरहेका छन् । यस वर्ष महाशिवरात्रि पर्व फागुन ३ गते परेको छ । महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गएको छ । साधु–सन्तहरूको आगमनसँगै भक्तजनको आवागमन पनि बढ्न थालेको कोषले जनाएको छ ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व भएकाले स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । यस पर्वलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्