Logo
Logo

राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता


189
Shares

काठमाडौं । राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।

सभाको आजको बैठकले राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेको हो । सभाका अध्यक्ष नारायण दाहालले यो विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका थिए ।

सभाको २०८२ साल भदौ १३ गते बसेको बैठकले राष्ट्रियसभाबाट यो विधेयक उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा ३५ जना सांसदले १ सय ५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

समितिका सभापति दाहालले यो विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएको माघ २० गते सामाजिक सञ्जाल विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।

यस्तै बैठकले पर्यटन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गएको वैशाख ५ गते दर्ता गरका थिए ।

प्रतिक्रिया दिनुहोस्