Logo
Logo

कञ्चनपुर-१ मा पुरानालाई नयाँको चुनौती


315
Shares

कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । 

लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन् । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जनक धामी उम्मेदवार बनेका छन् । उपाध्याय र धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । 

यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ को निर्वाचनमा कांग्रेस, २०६४ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी), २०७० मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । विगतको परिणामलाई हेर्दा २०४८, २०५६ र २०७० गरी तीन पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । विसं २०६४ र २०७४ मा नेकपा माओवादी केन्द्र रतथा २०५१ र २०७९ को निर्वाचनमा एमाले विजयी भएको थियो ।

विकास र सुशासन मुख्य एजेन्डा

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । यस क्षेत्रमा दलहरूलाई पुरानो खास जोगाउनुपर्ने चुनौती छ । यसपटक पुराना अनुहारलाई युवा उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेसले तीन पटक, माओवादी केन्द्र र एमालेले दुई÷दुई पटक निर्वाचन जितेको छ । 

नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राईले पार्टी पुरानो विरासत फर्काउने गरी निर्वाचनमा होमिएको बताउँछन् । ‘गत भदौमा भएको जेनजी आन्दोलनपछि युवा आउनुपर्छ भन्ने मत बलियो भएकाले पार्टीले पनि यसपटक युवालाई उम्मेदवार बनाएका छौँ’, उनले भने, ‘हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन् मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौँ ।’ 

विसं २०७९ मा यही क्षेत्रबाट निर्वाचित एमालेकी तामाङले निर्वाचनमा सफलता प्राप्त गर्नेगरी रणनीतिका साथ मैदानमा उत्रिएको बताए । उनले आफू प्रदेश सरकारमा मन्त्री हुँदा र प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा गरेका वकासका कामका कारण पनि यसपटक जित्ने दाबी गरे ।

नेकपाबाट उम्मेदवार बनेकी पूर्वमन्त्री मगर पनि विजयी हुने रणनीतिमा छन् । उनले यस क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको बताउँदै यसपटक पनि आफू निर्वाचित भए विगतका अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाइन् । 

रास्वपाका उम्मेदवार धामी पनि जनतामाझ लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उनले आफू जनताको सेवक भएर काम गर्ने बताउँदै यसपटक मत परिवर्तन गर्नुपर्ने बताइन् । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् । 

प्रतिक्रिया दिनुहोस्