
काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ को चुनावी विरासत र वर्तमान राजनीतिक परिदृश्य निकै रोचक र प्रतिष्पर्धात्मक देखिन्छ । यो क्षेत्रको चर्चा गर्दा नेकपा एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीको नाम अग्रपंक्तिमा आउँछ, जसले २०६४, २०७० र २०७४ का तीनवटै निर्वाचन जितेर यस क्षेत्रलाई एमालेको ‘गढ’ का रूपमा स्थापित गरेका थिए ।
२०७५ मा हेलिकोप्टर दुर्घटनामा असामयिक निधन भएपछि भएको उपनिर्वाचन र २०७९ को आम निर्वाचनमा उनकी पत्नी विद्या भट्टराईले एमालेको विरासत जोगाएकी थिइन् । १६ हजार ९ सय ९८ मतसहित उनी विजयी हुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका थिए ।
त्यसबेला कांग्रेस र माओवादीसहित ३ दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरे। यस्तै राप्रपाका सुवर्णराज पन्तले ३ हजार ९९३ र स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता महादेव गुरुङले १ हजार ३४० मत पाए ।
लगातार चारपटक एउटै पार्टीका उम्मेदवारले जितेको क्षेत्रलाई उसको आधार क्षेत्र अर्थात् गढ मान्नु स्वाभाविकै हो । तर मतको बदलिँदो स्वरूपले एमालेको संगठनमा धक्का लागेको संकेत गरेको छ । विशेषगरी २०७९ को निर्वाचन परिणामले कास्की–२ मा परम्परागत राजनीतिक शक्ति सन्तुलन हल्लिएको देखाउँछ ।
त्यहाँ समानुपातिक मतमा रास्वपाले १४ हजार २ मत प्राप्त गर्दा एमालेले १३ हजार ५४० मत पाएको थियो । यस्तै कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादी केन्द्रले २ हजार ४०४ र एकीकृत समाजवादीले १ हजार १७७ समानुपातिक मत ल्याएका थिए । यो मत परिणामले कास्की २ मा एमाले पहिलाजस्तो सुरक्षित नरहेको र रास्वपाप्रति मतदाताको झुकाव बढ्दो रहेको संकेत गर्छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले यसपटक कास्की–२ मा विद्यार्थी राजनीतिबाट उदाएका रश्मी आचार्यलाई मैदान पठाएको छ । रवीन्द्र अधिकारीजस्तै पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भइसकेका आचार्य एमाले केन्द्रीय सदस्य हुन् । यो क्षेत्रमा रास्वपाले सञ्चारकर्मी उत्तमप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । उत्तम रास्वपा गठनअघि नेपाली कांग्रेसमा थिए र ग्यालेक्सी फोरके टेलिभिजनको गण्डकी ब्युरो प्रमुख भएर काम गरेका थिए ।
यस्तै कांग्रेसले माधव बास्तोला ‘मधु’ लाई मैदानमा उतारेको छ । २०५४ सालमा वडाध्यक्ष भइसकेका मधु सादगी र निष्ठावान् नेताका रूपमा चिनिन्छन् । चुनावी मैदानमा नेकपाका तर्फबाट पूर्वलडाकु हेमबहादुर थापा ‘किरण’ पनि छन्, जो हिजोको जनयुद्धका मोर्चामा सक्रिय थिए । राप्रपाले केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङलाई उठाएको छ भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट वातावरणविद् कुशल गुरुङ चुनावी मैदानमा छन् ।
यसका साथै नेपाल मजदुर किसान पार्टीकी विनिता अवाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ र नेसनल रिपब्लिक पार्टीका ज्ञानराज गुरुङ पनि प्रतिस्पर्धामा छन् ।
विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट प्रेमबहादुर थापा र स्वतन्त्र रूपमा निरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल, रामचन्द्र आचार्य, वसन्तराज घिमिरे र विष्णुप्रसाद तिवारी चुनावी मैदानमा छन ।
पोखरा महानगरपालिकाका ११ वटा वडाहरू समेटिएको यो निर्वाचन क्षेत्रमा कुल ८४ हजार १३४ मतदाता छन्, जसमा महिलाको संख्या ४४ हजार ३४० छ । अहिले सबैजसो उम्मेदवार घरदैलोमा व्यस्त छन् । कसैका लागि यो अस्तित्व रक्षाको लडाइँ हो भने कसैका लागि नयाँ विरासत निर्माणको अवसर । कसलाई जितको ताज पहि¥याउने भन्ने अन्तिम निर्णय भने फागुन २१ गते कास्की–२ का मतदाताले नै गर्नेछन् ।











