Logo
Logo

भक्तपुर क्यान्सर अस्पतालमा ‘विस्तारित सेवा’को नाममा ब्रह्मलुट, ठगिँदै बिरामी


504
Shares

काठमाडौं । ‘विस्तारित स्वास्थ्य सेवा कार्यविधि, २०७२’ ले अस्पतालहरूलाई नियमित कार्यसमय बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न अनुमति दिएको छ । तर, भक्तपुर क्यान्सर अस्पतालले भने यस कार्यविधिको धज्जी उडाउँदै क्यान्सरजस्तो संवेदनशील रोगका बिरामीमाथि आर्थिक शोषण गरिरहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्षअघि जारी गरेको यो कार्यविधिको मूल उद्देश्य अस्पतालको भीड व्यवस्थापन गर्नु, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त समयमा सेवा दिन प्रोत्साहित गर्नु र बिरामीलाई विकल्प उपलब्ध गराउनु हो । सामान्यतया बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको कार्यालय समयपछि अतिरिक्त शुल्क लिएर सेवा दिनु नै यस कार्यविधिको मूख्य उद्देश्य हो ।

कार्यविधिअनुसार अस्पतालहरूले आन्तरिक नियम बनाएर विस्तारित सेवा लागू गर्न सक्छन् । यसमार्फत बिरामीले चाहेको खण्डमा अतिरिक्त शुल्क तिरेर छिटो सेवा पाउने व्यवस्था गरिएको छ । तर, भक्तपुर क्यान्सर अस्पतालमा भने यही व्यवस्थालाई उल्टो प्रयोग गर्दै कार्यालय समयभित्रै ‘विस्तारित सेवा’को नाममा मोटो रकम असुल्ने गरिएको पाइएको छ ।

बिरामीहरूका अनुसार नियमित समयमा आउने, विशेषगरी स्वास्थ्य बीमा सुविधामार्फत उपचार गराउन खोज्ने बिरामीलाई अस्पताल प्रशासनले ‘समय छैन’, ‘पालो धेरै छ’ भन्दै अल्झाउने गरेको छ । यस्तो व्यवहारपछि बिरामीहरू बाध्य भएर नगद तिरेर विस्तारित सेवा लिन विवश भएका छन् ।

जबकि कार्यविधिले स्पष्ट रूपमा कार्यालय समयपछि मात्र विस्तारित सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भक्तपुर क्यान्सर अस्पतालले दिनभरि नै यो सेवा चलाइरहेको छ, जसको प्रत्यक्ष मार आर्थिक रूपमा कमजोर क्यान्सरका बिरामीहरूमाथि परेको छ ।

सरकारी स्वास्थ्य बीमा लिएर आएका क्यान्सरका बिरामीहरू हप्तौँसम्म परीक्षण र उपचारको पालो नपाएर छटपटाइरहेका छन् । तर, नगदमा अत्यधिक शुल्क तिर्न तयार हुने बिरामीको हकमा भने परीक्षण र उपचार तत्काल हुने गरेको पाइएको छ ।

सरकारले तोकेको मापदण्ड र मूल्यसूची विपरीत अस्पतालले परीक्षण तथा उपचार सेवामा मनपरी शुल्क निर्धारण गरी बिरामीको ढाड सेक्ने काम गरिरहेको छ ।

बिरामीहरूमाथि ‘विस्तारित स्वास्थ्य सेवा’का नाममा भइरहेको बर्मलुटबारे मन्त्रालयमा उजुरी परेपछि भक्तपुर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष डा. श्रीकृष्ण श्रेष्ठले आइतबार आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा कार्यालय समयमै शल्यक्रिया, विभिन्न परीक्षण, सिटी स्क्यान तथा रेडियोथेरापीमा निजी अस्पतालभन्दा समेत बढी शुल्क असुल गरिएको पाइएको छ ।

एक चिकित्सक ‘ले मात्रै कार्यालय समयमा ‘विस्तारित स्वास्थ्य सेवा’को काम गरेर प्रतिमहिना एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरेको भेटिएपछि अध्यक्ष श्रेष्ठले उक्त अभ्यास तत्काल बन्द गर्न र दोषीमाथि कडा कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

त्यसपछि मात्रै अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले एक पत्र जारी गरी विस्तारित सेवा कार्यालय समयपछि मात्रै गर्न आग्रह गरेका छन् ।

डा. चालिसेद्वारा जारी पत्रमा भनिएको छ– ‘ओपीडी सेवाबाहेक अफिस समयभित्र जनरल उपचार सेवा लिन नसक्ने बिरामी तथा अन्य बिरामीहरूको हकमा अस्पतालको निर्देशनअनुसार अपराह्न तीन बजेपछि मात्र विस्तारित सेवा प्रदान गर्न तथा गराउन हुन जानकारी गराइएको छ ।’

सरकारको विस्तारित स्वास्थ्य सेवा कार्यविधि, २०७२ ले स्वास्थ्य सेवामा लचिलोपन ल्याउने लक्ष्य राखेको हो । तर, भक्तपुर क्यान्सर अस्पतालमा यही कार्यविधि बिरामी ठग्ने ‘लाइसेन्स’ जस्तो बनेको छ । यसले नीति कार्यान्वयनप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

क्यान्सरजस्तो प्राणघातक रोगसँग जुधिरहेका विपन्न बिरामीमाथि सरकारी अस्पतालभित्रै भइरहेको यस्तो शोषण मानवता विरुद्धको अपराधसरह हो । यस विषयमा स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्