Logo
Logo

नेकपाको चुनावी प्रतिबद्धतापत्रः मेट्रो र मोनोरेलदेखि जल यातायातसम्म


378
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

मंगलबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा अघि सारिएको छ।

प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार तथा सामाजिक न्यायसहितको समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा उल्लेख गरिएको छ। सोही लक्ष्यका लागि नेकपाले ‘स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र’ प्रस्तुत गरेको जनाएको छ।

‘तारा’ चुनाव चिह्न लिएर निर्वाचन मैदानमा उत्रिएको नेकपाले सुशासन र रोजगारीमार्फत समाजवादको आधार निर्माण गर्दै राष्ट्रियता र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पाँच अध्यायमा विभाजित प्रतिबद्धतापत्रको पहिलो अध्यायमा पार्टीको वैचारिक दृष्टिकोण प्रस्तुत गरिएको छ। दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन तथा परिणाममुखी प्रशासन प्रणालीबारे उल्लेख गरिएको छ।

तेस्रो अध्यायमा समाजवादका आधार निर्माणका लागि आर्थिक सुधारको नयाँ चरणबारे विवेचना गरिएको छ भने चौथो अध्यायमा शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी नीतिगत योजना अघि सारिएको छ।

अन्तिम अध्यायमा समानता, समावेशिता, सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयलाई समेटिएको छ। सामाजिक न्याय सुनिश्चित गर्न अपनाइने कार्यक्रम र नीतिहरू पनि प्रतिबद्धतापत्रमा समावेश छन्।

नेकपाले प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना तथा नयाँ महत्वपूर्ण पूर्वाधार आयोजनाहरूलाई द्रुत गतिमा सम्पन्न गर्ने जनाएको छ। पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौँ–निजगढ द्रुतमार्ग, काठमाडौँ–हेटौँडा सुरुङमार्ग तथा उत्तर–दक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) को निर्माणलाई तीव्रता दिने उल्लेख छ। गड्डाचौकी–चिसापानी सडकखण्ड चार लेनमा विस्तार गर्ने तथा खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ योजनालाई शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

यससँगै काठमाडौँ बाहिरी चक्रपथ तथा अन्य प्रमुख शहरमा चक्रपथ निर्माणलाई तीव्रता दिइने उल्लेख गरिएको छ। सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याइने, हुलाकी सडकका बाँकी खण्डको निर्माण सम्पन्न गरिने तथा पूर्व–पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक कार्य अघि बढाइने प्रतिबद्धतापत्रमा उल्लेख छ।

ठूला पूर्वाधार आयोजनामा पनि नेकपाले जोड दिएको छ। केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइने तथा सहमतिअनुसारका सीमा नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिने जनाइएको छ। साथै पूर्व–पश्चिम रेलमार्ग, काठमाडौँमा मेट्रोरेल र मोनोरेल निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने, हाल प्रयोगमा नरहेका विमानस्थलको स्तरोन्नति गरी पुनः सञ्चालन वा वैकल्पिक प्रयोजनमा उपयोग गर्ने नीति पनि प्रतिबद्धतापत्रमा समेटिएको छ। द्रुतमार्ग, लोकमार्ग र सुरुङमार्ग निर्माणलाई विस्तार गर्दै प्रमुख शहरमा मास ट्रान्जिट प्रणाली लागू गर्ने तथा ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

पार्टीले विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक र सामाजिक रूपान्तरणको नेतृत्व लिने सङ्कल्प गरेको छ। प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणलाई मुख्य लक्ष्यका रूपमा अघि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्