Logo
Logo

बारा-३ मा फरमुल्ला र ज्वालाको अग्निपरीक्षा, कसले मार्ला बाजी ?


567
Shares

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा क्षेत्र ३ मा यसपटक दुई पूर्वमन्त्रीबीचको रोचक भिडन्तले चुनावी सरगर्मी बढाएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुर र नेकपा एमालेकी नेतृ ज्वालाकुमारी साह मैदानमा छन् ।

यी दुईबीचको प्रतिस्पर्धाले पुरानो विरासत जोगाउने र नयाँ इतिहास कायम गर्ने दुवैको दाउलाई प्रतिविम्बित गर्छ । कांग्रेस नेता मन्सुरका लागि यो क्षेत्र नयाँ भने होइन । २०५६ मा बारा–४ बाट संसदीय यात्रा सुरु गरेका उनी २०७० मा बारा–३ बाटै संविधानसभा सदस्य र श्रममन्त्रीसमेत बनेका थिए । तर, २०७४ को निर्वाचनमा उनी तेस्रो स्थानमा खुम्चिए ।

त्यतिबेला तत्कालीन संघीय समाजवादी फोरमका रामबाबुकुमार यादव २१ हजार ३३६ मतका साथ विजयी हुँदा एमालेका अदयानन्द पाण्डेय दोस्रो र मन्सुर १६ हजार २०८ मतसहित तेस्रो भएका थिए । २०७९ को चुनावमा प्रत्यक्षतर्फ नभई समानुपातिक सूचीमा रहेका मन्सुर यसपटक २०७४ को हारको बदला लिँदै पुनः संसद् छिर्ने दाउमा छन् ।

अर्कातर्फ, एमालेकी ज्वालाकुमारी साह यस क्षेत्रकी बहालवाला विजेता हुन् । २०६४ मा माओवादीबाट समानुपातिक सांसद र भूमिसुधार राज्यमन्त्री बनेकी उनी २०७४ मा प्रदेशसभा सदस्य चुनिएकी थिइन् । नेकपा विभाजनपछि एमाले रोजेकै कारण पद गुमाएकी उनलाई केपी शर्मा ओलीले कृषि मन्त्रीको जिम्मेवारी दिएका थिए ।

२०७९ को निर्वाचनमा २० हजार २५१ मत ल्याएर जित हासिल गरेकी साहले जसपाका रामबाबुकुमार यादवलाई २ हजार ९७२ मतान्तरले पराजित गरेकी थिइन् । मन्त्री भइसकेकी साह यसपटक पनि आफ्नो साख जोगाउने कसरतमा छिन् ।

यद्यपि, यो प्रतिस्पर्धा मन्सुर र साहका लागि मात्र सहज छैन । यहाँ २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसपा नेपालबाट पूर्व विजेता रामबाबुकुमार यादव फेरि पनि बलियो चुनौती बनेर उभिएका छन् भने रास्वपाका अरबिन्द साह, जनमतका प्रमोदप्रसाद गुप्ता र राप्रपाका राजेन्द्रप्रसाद जैसवार पनि मुख्य प्रतिस्पर्धीको रूपमा देखिएका छन् ।

नेकपाका भरतप्रसाद शाहदेखि नेमकिपा, जनमोर्चा र विभिन्न साना दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थितिले मत बाँडिने निश्चित छ ।

पुरानो अनुभव बोकेका मन्सुर र पछिल्लो विरासत कायम राख्न चाहने साहको यो प्रतिष्ठाको लडाइँमा अन्य उम्मेदवारहरू ‘ब्रेक’ लगाउने रणनीतिमा छन् । बारा–३ को यो चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने कुराले दुवै नेताको राजनीतिक भविष्यको नयाँ दिशा तय गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्