बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।

बाणगंगा नगरपालिका-८, धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेका बैंक कारोबारसम्बन्धी कागजातहरू आफ्नै फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।
प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार, भट्टराईले माघ २६ गते फेसबुकमा ती कागजात सार्वजनिक गरेपछि मंगलबार नियन्त्रणमा लिइएको हो । ‘सामाजिक सञ्जालमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको हो,’ डीएसपी सिंहले बताए।
भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार उनी यसअघि पनि पटक-पटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने काममा संलग्न भएको र जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।











