काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रमा सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ।

यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । अभियानमा स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो।
अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा आसपास तथा साधु–सन्त बस्ने स्थानमा विशेष सफाइ गरिएको छ । फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेट प्रदान गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै सरसफाइ अभियानमा सक्रिय छ। महाशिवरात्रि नजिकिँदै जाँदा भक्तजनको चहलपहल बढ्न थालेकाले सरसफाइ र स्वयंसेवक परिचालनलाई प्राथमिकता दिइएको उनले बताए ।
यस वर्षको महाशिवरात्रिलाई व्यवस्थित र भव्य बनाउन मूल समारोह समितिअन्तर्गत नौ विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको कोषले जनाएको छ। व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास, प्रचार–प्रसार र समन्वय क्षेत्रमा उपसमिति सक्रिय छन् ।
महाशिवरात्रिका दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने अनुमान गरिएको छ । स्वदेशका साथै भारतबाट समेत श्रद्धालु आउने भएकाले भीड व्यवस्थापन र सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिने जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्वयंसेवक परिचालनमार्फत सुरक्षा सुदृढ बनाइने कोषले जनाएको छ ।
आपतकालीन उद्धार, प्राथमिक उपचार र स्वास्थ्य सेवाका लागि अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ का लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा साधु–सन्तहरूको आगमन उल्लेख्य रूपमा बढेको छ । वनकाली, मृगस्थली, राममन्दिर क्षेत्रलगायत स्थानमा साधु–सन्तहरू धुनी स्थापना गर्दै ध्यान र साधनामा तल्लीन देखिन्छन् ।
कोषका अनुसार यस वर्ष महाशिवरात्रि फागुन ३ गते परेको छ। यस अवसरमा पशुपतिनाथमा विशेष पूजाअर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिनेछ ।
महाशिवरात्रिलाई स्वच्छ, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गर्न कोषले श्रद्धालुलाई निर्धारित मार्ग, समय र सुरक्षा निर्देशिकाको पालना गर्न अनुरोध गरेको छ । अहिले पशुपति क्षेत्र धार्मिक उत्साह र आध्यात्मिक चहलपहलले भरिएको छ।











